धरान: लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।

अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को प्रथम पुरस्कारबाट मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गरेको हो । बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरिरहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनबारे छनौट समितिले मुल्यांकन गरि प्रथम पुरस्कारबाट पुरस्कृत गरेको जनाएको छ ।

“युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

यो बैंकको ४२ जिल्लामा १३८ ओटा शाखाहरु छन् । तीमध्ये ११८ ओटा शाखा मार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको बैंकले जनाएको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिईरहेका छन् भने यो क्षेत्रमा १७ अर्ब भन्दा बढी लगानीमा रहेको छ ।mukti muktinaath