धरान: साँस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ सँस्कारहरू’ विमोचन भएको छ ।

विगत डेढ दशकदेखि याक्थुङ मुन्धुम र इतिहासको खोज, अनुसन्धानमा लागेका तिल्लिङको पुस्तक शुक्रबार विमोचन भएको हो । यो पुस्तक उनको प्रकाशनको हिसाबले तेस्रो कृति हो । पुस्तकमा याक्थुङ जातिको जन्म, विवाह र मृत्यु संस्कारका विविध पक्षहरू समेटिएको लेखक तिल्लिङ बताए । युमा साम्यो महासभा मलेसियाले प्रकाशन गरेको पुस्तकमा साप्पोक चोमेन(कोख पूजा)देखि इसेम्मा तङसिङ(फराक्लो)सम्मका कुराहरू समावेश भएका छन् । किताब छ खण्डमा विभाजन गरिएको छ । लेखकले यसअघि तिल्लिङ वंशावली र उद्घोषणकलाबारे पुस्तक सार्वजनिक गरिसकेका छन् ।

विमोचन समारोहमा किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश अध्यक्ष सह–प्राध्यापक ध्रुवकुमार मेन्याङ्वोले याक्थुङ (लिम्बु) जाति मुन्धुमी सँस्कृतिमा आधारित समुदाय भएको बताए । धर्मबारे आन्तरिक बहस चलिरहेको बेला सँस्कृतिमार्फत् एकताको प्रयास खोजिनुपर्ने उनको भनाई थियो । नेपाल आदिवासी जनजाति महासङ्घका प्रदेश अध्यक्ष समेत रहेका मेन्याङ्वोले याक्थुङ सँस्कृति एकताको आधार हुने पनि बताए ।

hitram-ko

‘सावायेत्हाङका सन्तान मानिने याक्थुङ समुदाय मुन्धुममा आधारित कर्मकाण्ड गर्ने, जीवन दर्शनमा विश्वास गर्ने र पितृ प्रकृतिलाई सम्मान गर्ने समुदाय हुन्,’ उनले भने, ‘अन्य धार्मिक समुदायसरह बुझ्नु हुन्न । हामी खाजोङ(कर्मकाण्ड)मा आधारित समुदाय हौँ ।’ उनले युमा इष्टदेव मात्रै नभएर जीवन दर्शन र सञ्चालनका लागि सर्वोच्च स्रोत समेत भएको धारणा राखे । ‘समुदायमा अहिले युमा साम्योमार्फत् चलिरहेको साँस्कृतिक जागरणलाई अन्यथा लिनुहुन्न । मूल कुरा पहिचानमा मौलिकता रहन्छ रहँदैन भन्नेमा सचेत हुनुपर्छ,’ उनले जोडे ।

यसैगरी, युमा साम्यो महासभाका अध्यक्ष देवेन्द्र वनेमले साँस्कतिक जराबाट खोजिने पहिचान दिगो हुने उल्लेख गरे । उनले युमा साम्योले समुदायमा फुट ल्याउने कुरा भ्रम रहेको आरोप लगाउँदै आगामी राष्ट्रिय जनगणनामा मौलिक पहिचानका लागि आपूmहरू धर्मको महलमा युमा धर्म लेखाउने पक्षमा उभिएको बताए । पुस्तक विमोचनमा महासभाका केन्द्रीय सचिव भीमसेन लिङ्दम, केन्द्रीय सदस्यहरू आइत खजुम, देव सुब्बा लगायत उपस्थित थिए ।