धरान: प्रदेश नं १ को एक मात्र धरानस्थित गल्फ कोर्षमा नयाँ ग्रिन निर्माण गरिएको छ ।

धरान गल्फ क्लब र यु.के.मा बसोबास गर्ने नेपालीहरुको आर्थिक सहयोगमा नयाँ २ नम्बर ग्रिन निर्माण गरिएको हो । उक्त ग्रिनको आज बिहान नेपाल गल्फ एशोसिएशनका केन्द्रीय सदस्य पुर्वगोर्खा मेजर एम.बि.लिम्बुले पटिङ गरेर होलमा वल छिराउदै उद्घाटन गरेका थिए । क्लबका सचिव जितेन्द्र चाम्लिङ राईका अनुसार ४ लाख ७५ हजार बराबारको लागनीमा यो नयाँ ग्रिन बनेको हो । उक्त रकम क्लब र यु.के.बाट आएको रकमबाट संयुक्त लगानीमा निर्माण भएको पनि उनले बताए । निजी कम्पनीले गत माघमा गल्फ कोर्ष छोडेर गएपछि यसको व्यवस्थापन धरान गल्फ क्लबले गर्दै आइरहेको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा रहेको गल्फ कोर्षामा यो २ नम्बर ग्रिन २० बाई २५ मिटरको रहेको छ । यो ग्रिन बनेपछि कुल गिनको संख्या १६ वटा पुगेको छ । तर, पुरानो २ नम्बर ग्रिनलाई भने अब प्रयोगमा नल्याउने गल्फ खेलाडीहरुले बताएका छन् । ब्रिटिश क्याम्प रहदा तत्कालिन गोराहरुले निर्माण गरेको यो गल्फ कोर्ष १८ होलको हो । तर, ग्रिन १५ वटा मात्र भएकोले ३ वटा होल संयुक्तरुपमा खोलिदै आएको छ ।

golf-course2

सचिव राईका अनुसार पहिलाको २ नम्बर ग्रिनको क्षेत्रफल सानो थियो । साथै, अहिले काठमाण्डौंबाट नयाँ झार मगाएर ग्रिन तयार गरेको पनि उनले बताए । ‘यो झार काठमाण्डौंको आरएनजिसिमा प्रयोग गरिएको झार हो,’उनले भने,‘ब्रिटिशहरुले धरानकै लोकल झार प्रयोग गरेर ग्रिन बनाएका थिए, हामीले नयाँ झार ल्यायौं, त्यसैले यहाँको माटोमा हुन्छ कि हुदैन भन्ने द्धिविधा थियो, अहिले सफल भयो ।’

धरानका अग्रज व्यवसायिक गल्फ खेलाडी देवराज पाख्रिनका अनुसार पहिलाको ग्रिन लोकल झारको भएकोले प्रोफेस्नल खेलाडीहरुले पटिङमा समस्या भएको गुनासो गर्ने गरेका थिए । अब भने त्यस्तो समस्या नहुने उनले बताए । ‘लोकल घाँसमा पटिङ गर्न सस्या भयो भनेर बाहिरका खेलाडीहरुले कम्प्लेन गरे, अहिले काठमाण्डौंमा प्रयोग हुने घाँस नै ल्यायौं । अब यसरी नै सहयोग जुटाएर सबै ग्रिनको घाँस फेर्दै जान्छौं,’उनले भने,‘यो ग्रिनमा अभ्यास गर्दा धरानका खेलाडीहरुलाई पनि फाइदा हुन्छ । बाहिर जस्तो ग्रिन छ, यहाँ पनि त्यस्तै ग्रिनमा अभ्यासन गर्न पाएकोले खेल्न सहज हुन्छ ।’