धरान: सेक्ष ट्राभलिङ धरानले मस्तिष्क पक्षघात भएर अस्पतालमा उपचाररत सञ्चारकर्मी दिलिप रोनाहाङ राईलाई आर्थिक सहयोग गरेको छ ।

सेक्षले बर्षेनी प्रदान गर्दै आएको पर्यटन पत्रकारिता पुरस्कारको रकम १० हजार यो बर्ष सञ्चारकर्मी राईलाई सहयोग गरेको हो । आज क्लिकधरानको कार्यालयमा आयोजित एक कार्यक्रममा सेक्षकोतर्फबाट धरानका मेयर तिलक राईले सञ्चारकर्मीकी श्रीमति झरना मगर राईलाई हस्तान्तरण गरेका थिए । सेक्षले बर्षेनी प्रदान गर्दै आएको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार राशी यसपाली पुरस्कार वितरण नगरी उपचाररत सञ्चारकर्मीलाई सहयोग गर्ने निर्णय गरेको प्रबन्ध निर्देशक एलिना मगरले जानकारी दिइन् ।

sechaa1

मेयर राईले संक्षिप्त धारणा राख्दै धरान उपमहानगरपालिकाले पनि सञ्चारकर्मी राईलाई नगद २५ हजार सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । साथै, उनले एउटा व्यक्तिको स्वास्थ्य केवल उसको लागि मात्र नभै परिवार, समाजको लागि पनि भएकोले धेरै ख्याल गर्नुपर्ने बताए । ‘एउटा व्यक्तिसँग उसको परिवार, मान्ने साथीभाई, समाज रहन्छ, त्यसैले मेरो लागि मात्र स्वास्थ्य हो भनेर छुट पाइदैन, आत्मकेन्द्रीत गर्नुहुदैन, मेरो जिन्दगी हो, जे गरौं भन्नुहुदैन, हरेक व्यक्तिले ख्याल गर्नुपर्छ,’उनले भने ।

धरानको विजयपुर एफएममा कार्यरत सञ्चारकर्मी राई एक महिनाअघि मस्तिष्क पक्षघात भएर नोबेल अस्पतालमा उपचाररत छन् । उनको उपचारमा धेरै खर्च भइसकेकोले सञ्चारकर्मीहरुले पनि सहयोग संकलन अभियान चलाइरहेका छन् ।