धरान: स्याङ्जाकी एक महिलालाई झुटो विवरणको आधारमा दोहोरो नागरिकताको लागि सिफारिश गरेको आरोपमा मुद्दा खेपिरहेका धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवाल मिडियामा आएका छन् ।

मंगलबार वडा नं ९ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष कटवालले आफुले कागज प्रमाणको आधारमा सिफारिश गरेको दाबी गरेका छन् । सम्पुर्ण सक्कल कागजातको आधारमा सिफारिश गरेको भन्दै उनले आफु दोषी भए बसाईसराई, नाता प्रमाणित गर्ने वडा नं ३ र त्यसको आधारमा नागरिकता वितरण गर्ने इलाका प्रशासन कार्यालयका कर्मचारी पनि कारबाहीको भागीदार हुनुपर्ने अध्यक्ष कटवालले बताए । उनले आफु र वडा सचिवलाई मात्र फसाउने नियतले प्रहरीले मुद्दा दायर गरेको भन्दै असन्तुष्टी प्रकट गरेका छन् ।

स्वास्थ्य र घरायसी कारणले आफु पुष १४ गतेदेखि नै विदामा बसेको तर पुष २३ गते मिडियाहरुमा पुर्जी जारी भएर अध्यक्ष फरार भन्ने समाचार आएको उनले बताए । तर, आफुले बुझ्दा प्रहरीले पक्राउ पुर्जीको अनुमति मागेपनि अदालतबाट तोक आदेश भएको पत्र आफुले नपाएकोले चरित्र हत्या हुने गरि प्रहरीमार्फत समाचारहरु प्रकाशन भएको भन्दै अध्यक्ष कटवालले आक्रोश पनि पोखे ।

अध्यक्ष कटवालका अनुसार २०७५ माघ माघ ८ गते आवश्यक कागजातसहित मञ्जु सेजुवाल र उनको बुबा भनिने गोपाल सेजुवालले नागरिकताको सिफारिश माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमा उनीहरुले २०७४ बैशाख ६ गते अर्घाखाचीबाट धरानको वडा नं ३ मा बसाईसराई गरि आएको कागजात राखेका थिए । यस्तै, बैशाख १९ गते वडा नं ३ ले नै केशव सेजुवाल र गोपाल सेजुवाल बाउ छोराको नाता प्रमाणित गरेको कागजात पनि नागरिकतामा राखेको अध्यक्ष कटवालको भनाई छ । बसाई सराईमा नै बाबु छोरी, जन्ममिति पनि खुलेको उनको भनाई छ । सोही आधारमा आफुले सिफारिश गरेको अध्यक्ष कटवालले बताए ।

बसाई सराईमा मञ्जुको नाता प्रमाणित, जन्म मिति भएको आधारमा २०७५ माघ ८ गते वडा नं ९ बाट जन्मदर्ता गरिएको अध्यक्ष कटवालले जानकारी दिए । ‘नागरिक वडापत्रको आधारमा मैले कागजात सबै पुरा भएको छ भने त्यही दिन सिफारिश दिने भन्ने आधारमा गरेको हुँ,’उनले भने,‘ २ बर्षअघिकै बसाईसराईमा जन्ममिति २०५५ फागुन १० भन्ने छ । मैले यसको आधारमा सिफारिश गर्न मिल्ने कि नमिल्ने ?’ उनले सिफारिश गरिसके पछि इलाका प्रशासन कार्यालयले नाता प्रमाणित र बसोबासको सिफारिश मागेको र आफुले दिएको उनले स्वीकार गरे । नागरिकता बनिसकेपछि मञ्जुले फोटोकपी ल्याएर बसोबास र बाउ, छोरीको नाता प्रमाणित गरिदिएको उनले बताए ।

वडाअध्यक्ष कटवालले कागजातको आधारमा सिफारिश गर्दा मुद्दा चलाएको भन्दै उनले तर बसाईसराई दर्ताको प्रमाणपत्र दिने वडा नं ३ का कर्मचारी, त्यही कागजातको आधारमा नागरिकता दिने प्रशासन कार्यालयको कर्मचारीलाई भने उन्मुक्ति लिएको भन्दै आक्रोश पनि पोखे । ‘प्रहरीले कागज प्रमाणको आधारमा सिफारिश दिने म र वडा सचिवलाई मुद्दा चलाउने तर बसाईसराई दर्ता गर्ने, नाता प्रमाणित गर्ने वडा ३ को कर्मचारीलाई र नागरिकता दिने इलाका प्रशासनको कर्मचारीलाई चै किन उन्मुक्ति दिएको ?’उनले भने ।

स्याङजा घर भएकी मञ्जु क्षेत्रीले अर्घाखाची घर भएका गोपाल सेजुवालको छोरी बनेर धरानबाट नागरिकता झिकेकी थिइन् । उनी पुष पहिलो साता स्याङ्जामा पक्राउ परेपछि मात्र २ बर्षअघि धरानबाट झुटो विवरण पेश गरेर नागरिकता झिकेको खुलेको थियो । स्याङ्जा प्रहरीले थप कारबाहीको लागि उनलाई धरान पठाएको थियो भने सोही प्रकरणमा वडा नं ९ का अध्यक्ष कटवाल, वडा सचिव रञ्जु भुजेल पनि अनुसन्धानमा तानिएका थिए ।

0 23