काठमाडौं: पूर्वप्रमुख जिल्ला अधिकारी भगीराज इङनामद्वारा संग्रहित एवं लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ विमोचन भएको छ ।

नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले उक्त पुस्तकको विमोचन गरेका हुन्। लिम्बुवान अध्ययन केन्द्रले किरात याक्थुम चुम्लुङको केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा विमोचन गरिएको पुस्तकमा ३०१ बर्षको दस्तावेजहरु रहेका छ । वि.स. १७१९ सालदेखि २०२० सालसम्ममा माँझ किरात र पल्लो किरात लिम्बुवान क्षेत्रमा चलेको राजनीतिक, प्रशासनिक, साँस्कृतिक, आर्थिक र सामाजिक रितिथितीको विषयमा लेखिएका सम्झौता पत्र, आदेशपत्र, लालमोहोर, स्यामोहोर र अन्य लिखतहरूलाई पुस्तकमा समावेस गरिएको छ।

लामोसमय निजामति सेवामा काम गरे सेवा निवृत भएका इङनामले नेपालको पूर्वी पहाडी जिल्लामा चलेको सुभाङ्गी प्रथा, रितिथिति र सामाजिक संरचनाको विषयमा पुस्तकमा चर्चा गरेका छन्। पुस्तकमा ३९५ वटा लालमोहोर, स्यामोहोर र लिखत समावेस भएका छन्। ती कागजपत्रको सक्कल कपी र त्यसको उल्था गरेर राखिएको छ । पूस्तकको विमोचन गरेकापछि बोल्दै कुलपति प्रा.डा. उप्रेतिले घरघरमा लुकाएर राखिएको दस्तावेजलाई पुस्तकमा संग्रह गरेर उतार्ने कार्य प्रशंसनीय रहेको बताए। यो पुस्तक नेपालको अलिखित इतिहासको एउटा अंश हो। यो पुस्तकको प्राज्ञिक र ऐतिहासिक महत्व रहेको उनले बताए ।

पुस्तकको टिप्पणीकार प्राध्यपक दिनेशराज पन्तले अप्रकाशित सामग्रीहरू समावेश रहेको यो पुस्तक अबको पुस्तालाई इतिहास लेख्न प्रमाणित सामग्री भएको बताए। यो लिखित र कागजपत्र संग्रह नभएको भए भोलिको पुस्तालाई इतिहासको खोजी गर्न मुस्किल हुने उनले बताए। पुस्तकको टिप्पणीकार कृष्णविक्रम नेम्बाङ र डा. कमल तिगेलालेपनि लिम्बुवानको ऐतिहासिक दस्तावेज पुस्तक आफैमा ठुलो दस्तावेज भएको बताए । पुस्तकका प्रकाशक मोतिराज इङनामले बाँसको ढुंग्रोमा, बकासमा र कन्टुरमा राखिएको कागजपत्रलाई खोजेर लेखिएको पुस्तक प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा लेखक भगीराज इङनामले आफूले पाएका लिखत र कागजपत्रलाई जस्ताको तस्तै उतार गरेर प्रकाशित गरेको बताए। जोबाट कागजपत्र पाएँ। उनै ब्यक्तिलाई स्रोतको रूपमा उल्लेख गरेको बताए। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, लिम्बुवान अध्ययन केन्द्रका डिबि आङबुङलगायतले पुस्तकको विषयमा चर्चा गरेका थिए ।