धरान: लामो समयदेखि विवादित रहेको खानेपानी संस्थानको धरानस्थित शाखालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको छ ।

धरान उपमहानगरपालिका तथा बोर्डले संस्थानको जिम्मा लिएर मर्ज गरेको बिषयमा औपचारिकरुपमा बताएको छैन । केही दिनभित्रै पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने बोर्डले जनाएको छ । संस्थानका एक कर्मचारीका अनुसार संस्थानको सम्पत्ति, दायित्वलाई हिजो आइतबार नै बोर्डमा हस्तान्तरण गरिएको थियो । आज सोमबार बोर्ड अध्यक्षकोरुपमा मेयर तिलक राई कार्यालयमा आएर पदवहाली गरेको र कर्मचारीहरुसँग परिचयात्मक छलफल पनि भएको ती कर्मचारीले जानकारी दिए । मेयर राईले कर्मचारीहरुलाई जसरी पनि पानी खुवाउनुपर्छ भन्ने निर्देशनसमेत दिएको ती कर्मचारीको भनाई छ ।

उनका अनुसार मेयर राईले को को कर्मचारी संस्थानमै जाने र को को बोर्डमा रहने भनेर बुझ्ने काम पनि गरे । उनले धरानमा रहेर काम गर्ने कर्मचारीहरुलाई पानी खुवाउन निर्देशन पनि दिएको बताए । ‘हिजो नै हस्तान्तरण भयो । आज मेयर साब आएर हामीसँग परिचय गर्नुभयो । उहाँ बोर्ड अध्यक्ष भएकोले टेवल, कुर्सी व्यवस्था छ,’उनले भने,‘हामीसँग परिचय गरेर को बस्ने, को को जाने भनेर छलफल गर्नुभयो, र यही बस्ने कर्मचारीहरुलाई जसरी पनि धराने जनतालाई पानी खुवाउनुपर्छ भनेर निर्देशन दिनुभयो ।’

बोर्डमा रहने निर्णय गरेका कर्मचारीहरुले आजैदेखि बोर्डमा हाजिरी गर्न पनि थालेका छन् । यसअघि ४३ जना कर्मचारीहरु बोर्डमा रहने इच्छुक भएका थिए । सोही अनुसार नामको सुची बोर्डमा पठाइएको थियो । तर, एक, दुई जनाले पुनः संस्थानमा नै गएको हुनसक्ने एक कर्मचारी बताउँछन् । ‘पहिला ४३ जनाको नाम थियो, त्यसमध्ये एक दुई जना फेरि संस्थानमै गएजस्तो छ । अरुले आजदेखि बोर्डमा हाजिर गर्न थाल्यौं,’एक कर्मचारीले भने ।

पछिल्लो समय संस्थानलाई जिम्मा लिएर बोर्डमा मर्ज नगरेको भन्दै कार्यपालिका बैठक र गएको नगरसभाको उद्घाटनको दिन मेयर राईको जनप्रतिनिधिहरुले नै चर्को विरोध गरेका थिए । यसपछि मेयर राईलाई संस्थानको सम्पत्ति तथा दायित्व छिटो जिम्मा लिन दबाबमा थिए । जनप्रतिनिधिहरुले आठौं नगरसभा रोक्ने गरि विरोधमा उत्रिएपछि फागुन २१ गतेभित्रै संस्थान जिम्मा लिएर मर्ज गर्ने र एकद्धार प्रणालीबाट पानी खुवाउने प्रतिवद्धता उनले गरेका थिए ।

यता बोर्ड अध्यक्ष एवं मेयर राईले केही दिनभित्रै संस्थानलाई जिम्मा लिएर बोर्डमा मर्ज गरिएकोबारेमा औपचारिकरुप्मा पत्रकार सम्मेलन गरेर नै विस्तृत जानकारी दिने बताए । उनले भने,‘आन्तरिक प्रक्रियामा गएका छौं, केही दिनभित्रै सबै जानकारी गराउछौं ।’