झापा: मृत्यु भइसकेका व्यक्तिको नाममा रहेको जग्गा हत्याउन नक्कली नागरिकता बनाएर ठगी गर्ने हिरोहका १० जना पक्राउ परेका छन् । 

झापाको विर्तामोडका स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्न नक्कली टुंग बहादुर बस्नेत खडा गरेर जग्गा ठगी गर्ने हिरोहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ बर्षीय मंगल सिंह राजवंशी, भद्रपुर ७ का ५२ बर्षीय नवीन कोइराला, बाह्रदशी ५ का ५० बर्षीय लिलाधर राजवंशी, गौरीगंज १ का ३७ बर्षीय बलराम बिश्वकर्मा, शिबसताक्षी ८ का ४२ बर्षीय भुपदेव कटुवाल रहेका छन् । यसैगरि अर्जुनधारा ५ का ५३ बर्षीय लेखनाथ खनाल, बिर्तामोड ४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड १० का ७१ बर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ बर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ बर्षीय राजन विश्वकर्मा रहेका छन् । पक्राउ गरेका १० जनालाई जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको छ । 

प्रहरीका अनुसार यो हिरोहले बिर्तामोड १ स्थित अदुवा पुलबाट १ सय मिटर पश्चिममा पुर्व(पश्चिम राजमार्गमा जोडिएको कित्ता नम्बर ४१८३ नम्बरको जग्गा ठगी गरेको छ । यो जग्गा स्वर्गीय टुंग बहादुर बस्नेतको नाममा रहेको छ । उक्त स्थानमा १ कठ्ठा १३.७५ धुर जग्गा रहेको छ । यो गिरोहले देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर बस्नेत बनाएर नक्कली नागरिकता समेत बनाएको खुलेको छ । उनीहरुले २०७७ असोज २८ गते काठमाण्डौ जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएका थिए । उक्त वारेशनामा मार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा गत माघ २१ गते जग्गा राजिनामा पास गरेको थियो ।

उक्त घटना बारेमा ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी परेपछि १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह (आरआइटि), जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले १० जनालाई पक्राउ गर्न सफल भएको हो । यो ठगीमा सम्बन्धित निकायका प्रतिनिधीहरुको समेतको संलग्नता रहको र पहिचान भई सके पनि फरार रहेको झापा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।