धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी, कर्मचारी र व्यवस्थापन पक्षबीच संवादहिनता तोडिएको छ । 

चिकित्सक र विद्यार्थीहरुसँगै कर्मचारी, स्टाफ नर्सहरुले पनि आन्दोलनमा समर्थन जनाए पछि आज (शुक्रबार) आन्दोलनकारी र प्रतिष्ठान व्यवस्थापन पक्षबीच वार्ता भएको छ । दुवै पक्षले संवादहिनता तोडिएको र वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएको छ । वार्तामा प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर प्रा.डा.गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र कार्यकारिणी समिति सदस्य निर्मला लिम्बु सहभागी थिए । उपकुलपति डा.ज्ञानेन्द्र गिरी र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी काठमाण्डौं भएकोले वार्तामा थिएनन् । आन्दोलनरत पक्षबाट फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेल, महासचिव डा.एस.पी रिमाल, जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी र विद्यार्थीहरुका तर्फबाट प्रतिनिधिहरु सहभागी थिए । 

वार्ता बिहान ११ बजेदेखि करिब ३ घण्टा भएको थियो । वार्तामा सहभागी जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले करिब २ बजेसम्म वार्ता भएको र आन्दोलनरत पक्षबाट खुलस्तरुपमा आफ्ना कुराहरु राखेको बताए । ‘सबै बिषयमा हाम्रो पक्षबाट खुलस्त कुरा राख्यौ, उहाँहरुले टिपोट गर्नुभयो । कति कुरा रियलाइज गछौं, कति कन्भे गछौं भन्नुभएको छ,’डा.नेपालीले भने,‘रेक्टर सरले हाम्रो कुरालाई सकरात्मकरुपमा नै लिनु भएको छ ।’

bp-andolan1

डा.नेपालीले धेरै कुरा उपकुलपतिसँगै सम्बन्धित भएकोले पुनः उपकुलपतिसहित वार्ता हुन आवश्यक भएको बताए । आन्दोलनको प्रस्थानविन्दु डा.विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको घटना भएपनि समग्ररुपमा प्रतिष्ठानलाई सुद्धिकरण गराउनुपर्ने आवाज उठिरहेको डा.नेपालीले बताए । ‘भिसिसहित वार्ता गर्न आवश्यक छ । सबै समस्याहरुलाई सम्बोधन गर्दै प्रतिष्ठानलाई नै सुद्धिकरण गर्नुपर्छ भन्ने कुरा उठेको छ,’ उनले भने,‘प्रस्थानविन्दु त्यो घटना (स्पष्टीकरण ) भयो, तर यहाँ पहिलादेखि नै समस्याहरु छन्, बेथिती छन्, भ्रैष्टचार छन्, मेशिनहरु बिग्रेको छ, खरिद प्रक्रियामा समस्या छ । आज बैठकमा यी सबै कुरा उठ्यो ।’ 

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.गुरु खनालले आन्दोलनरत पक्षसँग संवादहिनताको स्थिति तोडेर सकरात्मक संवादको थालनी भएको प्रतिक्रिया दिए । आफु केही दिनदेखि नै सम्पर्कमा रहेको भन्दै खनालले संवाद नगरि टुंगोमा पुग्न नसकिने भएकोले आजदेखि शुरुवात गरेको बताए । ‘म शुरुवातदेखि नै उपुकलपति र आन्दोलनरत पक्षसँग सम्पर्कमा थिएँ । संवाद नगरि कुनै पनि कुरालाई टुंगोमा पुर्याउन सकिदैन, त्यही अनुसार उपकुलपतिसँग छलफल गरे, र आज वार्ता भयो,’निमित्त उपकुलपति डा.खनालले भने,‘व्यवस्थापन पक्षबाट निमित्त उपकुलपतिको नाताले कतिपय कुरा मैले भने । कतिपय कुरा उपकुलपतिसँग जोडिएको छ । अब उहाँ फर्केपछि हामी फेरि बस्छौं, र वार्तालाई निरन्तरता दिन्छौं । समग्रमा बसाई राम्रो भयो ।’ उनले मागहरु पुराना र जायज रहेकोले आफुहरु सकरात्मक भएपनि कोभिडको कारण पुरा गर्न नसकिएको बाध्यता पनि खुलाए ।