धरान: कोरोना महामारीको दोस्रो लहरको कारण नेपालबाट आउने हवाई उडानमा हङकङ सरकारले प्रतिवन्ध लगाएपछि हङकङ फर्किन नपाएका हङकङ आइ.डी. लिएका नेपालीहरुलाई उद्दार गर्न हङकङ नेपाली महासंघले माग गरेको छ ।

महासंघले हङकङ सरकारका पुर्वमन्त्री र सांसदहरुसँग हालै मात्र भएको भेटमा नेपालमा अड्किएका आफ्ना नागरिकहरुलाई उद्दार गरेर ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । महासंघका अध्यक्ष टंक रानाका अनुसार महासंघको अनुरोधपछि हङकङको कउलुन जिल्लाको नाथान रोड मङकोकस्थित महासंघको कार्यालयमै आएका हङकङ सरकारका पुर्व मन्त्री तथा वर्तमान सांसद स्ट्यारी ली, सांसद भिन्सेन्ट चेङलगायत सांसदहरुलाई ज्ञापन पत्र बुझाइएको हो । ‘हङकङ सरकारले नेपालको हवाई जहाज उडानमा प्रतिवन्ध लगाएपछि नेपाली मुलका हङकङ्गे नागरिकहरु नेपालमै विचल्लीमा छन्, उनीहरुलाई तत्काल उद्दार गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छौ,’अध्यक्ष रानाले भने ।

महासंघले पुर्व पदाधिकारीहरु रिता गुरुङ, प्रदीप थापा, हङकङ चेमबर अफ कर्मसका अध्यक्ष दासुराम पराजुली, समाजसेवी पुस्पा गुरुङ, हेजेन राईलगायतको उपस्थितिमा  हङकङ सरकारलाई ज्ञापन पत्र बुझाएको हो । हङकङ सरकारले केन्द्रीय सरकार (चिन) संग समन्वय गरेर नेपालमा रहेका आफ्ना नागरिकलाई छिटो उद्दार गर्न चार्टर उडानको व्यवस्था गर्न ज्ञापन पत्रमा माग गरिएको छ । यस्तै, नेपालको कुल जनसंख्याको २ प्रतिशतले मात्र हालसम्ममा कोभिड खोप लिएको भन्दै महासंघले एक असल र ऐतिहासिक सम्बन्ध रहेको छिमेकी भएको नाताले कोभिड खोपको पनि नेपालका लागि अनुदान स्वरुप उपलव्ध गराउन माग गरेको छ ।

hk-nepali-gyapan-patra 

ज्ञापन पत्र बुझेपछि पुर्वमन्त्री समेत रहेकी स्ट्यारी लीले आफ्ना नागरिकहरुको बिषयमा हङकङ सरकार गम्भीर बनेको बताएकी थिइन् । उनको भनाई उदृत गर्दै महासंघका अध्यक्ष रानाले भने,‘ नेपालमा अड्किएका हंङकङका नागरिकलाई उद्दार गर्नु आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको छ ।’ अध्यक्ष रानाका अनुसार सांसद भिन्सेन्टले हङकङका नागरिकलाई उद्दार गर्न र कोरोना खोपका लागि नेपाल सरकार र चिनिया (हङकङ) सरकार वीच जि टु जी गर्न नेश्नल पिपल कंग्रेस (एनपिसी)मा हङकङको बरिष्ठ लियाजन अफिसर मार्फत समन्वय गरेर नेपाललाई सहयोग गर्न सकिने बताएका थिए । 

महासंघले यसअघि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामलाई पनि यसै बिषयमा पत्र बुझाई सकेको छ । महासंघका पुर्वअध्यक्ष प्रदीप थापाका अनुसार हङकङलाई कर्मथलो बनाएर त्यहीका नागरिक भएर बसेकाहरुले व्यापार व्याबसाय गर्न वंैक ऋण लिएका छन् । लकडाउनले यता न उताका भएका मात्र छैनन्, खोपसमेत लगाउन पाएका छैनन् । ‘यिनै विविध समस्याबारे हङकङ सरकारलाई महासंघसले औपचारिक जानकारीसहित ज्ञापन पत्र बुझाएको हो,’उनले भने । 

महासंघका अनुसार हङकङमा ७० हजार नेपालीहरु छन् । महासंघले नेपालका विकट गाउँका कोरोना संक्रमितहरुलाई लक्षित गरेर चिनिया सरकार, हङकङक सरकार, नेपालको महाबाणिज्य दुतावासको समन्वयमा हङकङको गैर सरकारी संस्था सोअर एक्सनले करिव ६ करोड रुपैया बराबरको २ सय थान अक्सिजन कन्सनट्रेटर निःशुल्क उपलव्ध गराएको थियो ।