धरान: इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गरी आन्दोलनमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई स्वास्थ्य मन्त्रालयले काममा फर्किन आग्रह गरेको छ ।
सेवा बहिष्कार गरेकै दिन विज्ञप्ती जारी गर्दै मन्त्रालयले आन्दोलनरत पक्षको अधिकांश माग पुरा भइसकेको र थप मागहरु सम्बोधनको क्रममा रहेको भन्दै काममा फर्किन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तीमा मन्त्रालय र संघर्ष समितिबीच भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न हालसम्म मन्त्रालयले गरेको काम कारबाहीबारे पनि प्रष्ट पारिएको छ ।
विभिन्न ९ बुँदामा उल्लेख गरिएको विज्ञप्तीमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन सार्वजनिक गरिएको, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलबाट अनुगमन गरिएको, प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई गतिरोध अन्त्य गर्न निकासको लागि मार्ग प्रशस्त गर्न निर्देशन गरिएको, उपकुलपतिलाई प्राध्यापक उपाधिको प्रमाण पत्र पेश गर्न पत्राचार गरिएको, ६ जना सिनेटरहरुले कुलपतिलाई निवेदन दिएपछि सहकुलपतिको नेतृत्वमा समिति बन्ने क्रममा रहेको उल्लेख गरिएको छ ।
यस्तै, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुसँग सम्बन्धित मौजुदा कानुन संशोधन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक गरिएको, पदाधिकारी नियुक्तीको मापदण्ड निर्धारण कार्यदलको प्रतिवेदन सार्वजनिक गरिएको, मन्त्रालय मातहतको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बधी मापदण्ड २०७३ लाई परिमार्जन गरि नयाँ नियुक्ती सम्बन्धमा कार्यविधि मापदण्ड निर्माणको लागि ३ प्राध्यापकसहित ७ सदस्यीय समिति गठन गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै, वीपी प्रतिष्ठानको ऐन २०४९ को दफा ११ घ मा भएको व्यवस्था वमोजिमको समिति निर्णयको प्रक्रियामा रहेको पनि उल्लेख छ ।