धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे सरकारले गरेको निर्णयको विरोध जनाएको छ ।

एमालेले पदाधिकारीलाई ऐनमा व्यवस्था भएअनुसार नहटाई काम गर्न रोक लगाउने र कर्मचारी खटाउने निर्णय गैरकानुनी भएको पनि जनाएको छ । अध्यक्ष हर्कजंग एभेङ र सचिव सुदेश चापगाईले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रिपरिषदको हवाला दिदै स्वास्थ्य मन्त्रीले ऐनमा कतै नभएको अधिकार प्रयोग गरी मन्त्रालयको कर्मचारीलाई पठाउनु गैरकानुनी, निन्दनीय र भत्र्सना योग्य रहेको बताएका छन् ।

एमाले धरानले गैरकानुनी र गलत निर्णय तत्काल सच्याउन साथै पदाधिकारीहरुलाई निर्वाध काम गर्ने वातावरण सिर्जना गर्न पनि सरकारसँग माग गरेको छ । गैरकानुनी बाटोबाट आएका कर्मचारीहरुको आदेश पालना गर्न नसक्ने भनेर प्रतिष्ठानकै कर्मचारी कल्याण समाज, फ्याकल्टी वेल्फेयर सोसाइटीले निर्णय गरेको भन्दै एमालेले उक्त निर्णयप्रति ऐक्यवद्धता पनि जनाएको विज्ञप्तीमा उल्लेख छ ।

एमाले धरानद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘गठबन्धन सरकारलाई कर्मचारी पठाउने निर्णय तत्काल फिर्ता गरी प्रतिष्ठानलाई ऐन, नियमावली अनुरुप निर्वाध सञ्चालन हुने वातावरण निर्माण गर्न अनुरोध गर्दै सरकारले जर्बजस्ती गैरकानुनी निर्णय लाद्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम सरकारले लिनुपर्नेबारे ध्यानाकर्षण गराउदछौं ।’

एमाले धरानले शुद्धिकरण आन्दोलन प्रतिष्ठानको दीर्घकालिन विकास र समृद्धि भन्दा पनि आग्रहपुर्वक पदाधिकारी विरुद्धमा मात्र भएको विज्ञप्तीमा उल्लेख गरेको छ । शुद्धिकरणको नामबाट शुरु भएको आन्दोलन पदाधिकारी हटाउन केन्द्रीत बनेपछि प्रतिष्ठान अन्योलग्रस्त बनेको र वर्तमान सरकारको गैरकानुनी निर्णयले झन् अन्योल र अस्तब्यस्त बनाउने निश्चित भएको एमालेको विज्ञप्तीमा उल्लेख छ । 

uml

uml1