धरान: मेयर हर्क साम्पाङले धरानलाई बचाउने र बनाउने अभियानमा सबै जनप्रतिनिधिहरुलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् । 

बैशाख ३० गतेको निर्वाचनबाट धरानमा निवार्चित सबै जनप्रतिनिधिहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आग्रह गरेका हुन् । उनले विभिन्न दलमा आवद्ध भएपनि सबैको उद्देश्य धरानको विकास नै भएको बताए । मेयर साम्पाङले भने, ‘अब सबै जना मिलेर धरानलाई बनाउने, धरानलाई बचाउने अभियानमा एक भएर, एकाकार भएर अगाडि बढ्नेछौं ।’

मेयर राईले धरानको ठुलो समस्या खानेपानी भएपनि अब मनसुन शुरु भएकोले बाढीले गर्ने क्षति र तटबन्धनको पनि समस्या आउन थालेको बताए । यस्ता समस्याहरुलाई प्राथमिकीकरण गरेर आकस्मिक र नियमित गर्ने कामको वर्गीकरण गरेर समाधान गर्दै जानुपर्ने पनि उनले बताए । ‘आआफ्नो ठाउँबाट, पदबाट धरानलाई बचाउने, बनाउने अभियानमा जुट्नुपर्छ । म कर्मचारीहरुलाई पनि अगँ्रह गर्छु, कुनै सेवाग्रही आउदा ढिला सुस्ती गरेर दुःख दिनुहुदैन,’मेयर साम्पाङले भने ।

sampang-harka

खानेपानीको मुद्दा नगर प्रमुखको मात्र हो भन्ने बुझाई गलत भएको उल्लेख गर्दै मेयर साम्पाङले खानेपानी सबैको मुद्दा भएको जिकिर गरे । साथै उनले जनताले घरमा पानी आउछ भन्ने अपेक्षाले नै सबैलाई भोट दिएर जिताएकोले पनि मिलेर नै पानी खुवाउनुपर्ने पनि बताए । मेयर साम्पाङले भने,‘सतहको पानी ल्याउने पहल हुदैछ । त्यसो गर्दा पम्प चलाउनुपदैन, र खर्च कम हुन्छ । लाखौं रुपैया जोगिन्छ । त्यो पैसाको हामी सदुपयोग गर्न सक्छौ ।’

सबै जनप्रतिनिधि एउटै टिमको सदस्य भएको र जनताले आफुलाई कप्तानकोरुपमा निवार्चित गरेको भन्दै साथ दिन पनि आग्रह गरे । उनले ५ बर्षको कार्यकालमा कम्तीमा धरानलाई सफा सहर बनाउन र पानी जनतालाई पर्याप्त खुवाउन सफल हुने गरि काम गर्न पनि आग्रह गरे । ‘धरानलाई कम से कम सफा बनाऔं, घरमा पानी होस । ५ बर्षपछि के भन्ने ? यस्तै भयो भने हामीले जितेको के फरक भयो ?’उनले भने ।

भिडियो: