धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी आयोजनाको परामर्शदाता र ठेकेदार पक्षलाई बोलाएर आफ्ना समर्थकहरुको माझमा केरकार गरेका छन् । 

मेयर साम्पाङले आज (शुक्रबार) ठेकेदार कम्पनी तियाञ्जेन तुदी जेभीका प्रतिनिधि निर्माण गौली, परामर्शदाता कम्पनी बिडिएका अरुण नेपाललाई बोलाएर समर्थकहरुको माझमा केरकार गरेका हुन् । उनीहरुलाई मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले मात्र होइन, मेयरका समर्थकहरुले पनि अस्वभाविक विभिन्न प्रश्नहरु तेस्र्याएका थिए । मेयरका समर्थकहरुले ठेकेदार, परामर्शदाताका प्रतिनिधि र खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई 'त' भनेर अपशब्द पनि प्रयोग गरेका थिए । 

water

मेयरका समर्थकहरुले उनीहरुलाई भ्रष्टचार गरेको आरोपसमेत लगाउदै छानबिन गर्नुपर्ने माग गरेका थिए । मेयर साम्पाङले आफ्ना समर्थकहरुलाई सम्झाउदै विगतको नेतृत्वले गरेको कामहरुको जिम्मेवारी अहिले नेतृत्वमा आफु भएकोले लिने भन्दै खर्चको छानबिन गर्ने आश्वासन दिएका थिए । 

मेयर साम्पाङ र उनका समर्थकहरुले आयोजना असफल भएको दाबी गरेपनि परामर्शदाता कम्पनीका प्रतिनिधि अरुण नेपालले भने आयोजनाको काम पुरा नभएको तर डिपिआरमा भएअनुसार पानी उत्पादन गर्न भने सफल भएको दाबी गरे । उनले पानी वितरणमा समस्या भएको पनि बताए । ठेकेदार कम्पनीका प्रतिनिधि गौलीले समयमा नै खानेपानी संस्थानको हस्तान्तरण नहुदा इन्टरकनेक्सनको काम हुन नसकेको बताए । 

आयोजनामा २ अर्ब १६ करोड खर्च

water1

धरानको खानेपानी समस्या समाधान गर्ने लक्ष्यसहितको एकीकृत शहरी विकास आयोजना (आइयुडिपी)मा कुल २ अर्ब १६ करोड १८ लाख ३९ हजार १६३ रुपैया खर्च भएको पाइएको छ । 

उपमहानगरपालिकाका लेखाले दिएको जानकारी अनुसार त्यसमध्ये खानेपानी आयोजनाको ठेकेदारलाई १ अर्ब ७४ करोड ७९ लाख ९२ हजार २४२ रुपैया भुक्तानी भएको छ । परामर्शदाता खर्चमा १३ करोड १ लाख ६ हजार भएको छ भने मुल्य समायोजन गर्दा ठेकेदार कम्पनीलाई थप १० करोड ६ लाख भुक्तानी भएको छ । 

यसैगरि, सामुदायिक विकासको काममा २ करोड ९९ लाख ८ हजार ८०५, आदिवासी विकास आयोजनामा १ करोड ९६ लाख ९६ हजार, चालु खर्चतर्फ १० करोड १८ लाख ८६ हजार, पुँजीगत खर्चमा ६५ लाख ५६ हजार खर्च भएको छ । 

भिडियो: