धरान: चुनावी खर्च विवरण समयमा नबुझाएपछि धरानका मेयर हर्क साम्पाङले जरिवाना तिर्नुपर्ने भएको छ । 

निर्वाचन आयोगको शुक्रबारको बैठकले चुनावी मतपरिणाम आएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने नियम उल्लंघन गर्ने मेयर साम्पाङसहित देशभरका जनप्रतिनिधिहरुलाई जरिवाना गर्ने निर्णय गरेको हो । आयोगका अनुसार धरानका मेयर साम्पाङले ३० दिन बितिसके पछि खर्च विवरण पेश गरेका थिए । उनले साढे ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ । 

यस्तै, काठमाण्डौंका मेयर बालेन शाह, पोखराका मेयर धनराज आचार्य, चितवनकी मेयर रेणु दाहाल र विरगंजका मेयर राजेशमान सिंहले पनि जरिवाना तिर्नुपर्ने भएको छ । नियम उल्लंघन गर्ने जनप्रतिनिधिहरुलाई जरिवाना गर्ने निर्णंय गरेर सूची तयार गरेको प्रमुख आयुक्त दिनेश थपलियाले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । कानुन उल्लंघनको छुट कसैलाई पनि नहुने उनले बताएका छन् । 

निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगले गरेको छ । पटक(पटक तागेता गर्दा पनि वेवास्ता भएपछि जरिवाना गर्ने निर्णय गरिएको आयोगको भनाई छ । पराजित उम्मेदवारहरुलाई जरिवाना नतिरे उम्मेदवार बन्न पाउने छैनन् । निवार्चित भएकाहरुले अब ६ महिनाभित्र जरिवाना तिर्नुपर्ने हुन्छ । जरिवाना नतिरे पद खारेज हुने पनि आयोगको भनाई छ ।