धरान: मंसिर ४ गतेको निर्वाचनमा एमाले–जसपा तालमेलका उम्मेद्वारहरुले धरान १३ मा मतदाताहरुसँग अभिमत मागेका छन् ।
अमरहाटमा उम्मेद्वारहरुले मतदाताहरुसँग विकास, समृद्धि र सुशासनका लागि काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफ्नो निर्वाचन क्षेत्र र जनताको हित, समृद्धि र सुखका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्यान्वयन गर्ने र अगाडि बढाउने अवसर आफुले प्राप्त गर्ने विश्वास पनि व्यक्त गरे ।
कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार राईले भने उम्मेदवारको बिषयमा कुनै चिन्ता व्यक्त नगर्न आग्रह पनि गरे । उनले जनताले दिएको जनमतलाई जनतामै समर्पण गर्ने बताउदै सोही संकल्पका साथ जनताको बीचमा आएको बताए ।
यस्तै, प्रदेशसभा १ (१) का उम्मेदवार रमेशकुमार बस्नेत सोमबार भोट माग्दै धरान १३ स्थित शिवधारा क्षेत्रमा घरदैलोमा गएका छन् । उनले पनि कोण सभालाई सम्बोधन गर्दै जनताले खोजेको विकास निर्माणको अपेक्षा र अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता जनाए । जनताले निर्वाचित गराएर संसदमा पुर्याए प्रदेशको समुन्नतिका लागि नीति निर्माण गर्नेसँगै विकासको जनअपेक्षा पूरा गर्ने उनको भनाई थियो ।
उनले धरानको खानेपानीको समस्याको दीगो समाधानका लागि पहल र प्रयत्न गर्ने, अधुरा बाटोसँगै खहरे नियन्त्रण र एमाले पार्टीको केन्द्रीय नीतिअनुसार पाँच लाख युवालाई स्वरोजगार बनाउने दिशामा आफूले नीति निर्माण गर्ने बताए ।
यस्तै, धरानका काली खोला, सर्दू खोला र सेउती खोला व्यवस्थापन गर्ने र नियन्त्रणका लागि करिडोर निर्माण गर्ने नीतिका लागि आफ्नो पहलकदमी हुने बस्नेतले बताए । उनले जनतालाई दुःख दिने खहरे खोलाहरुमा करिडोर निर्माण गरी सौन्दर्यीकरण गर्ने र आन्तरिक पर्यटनको विकासलाई जोड्ने बताए । विजयपुरको ऐतिहासिकतालाई थप प्रकाशमा ल्याई यसको समुचित विकासतर्फ नीति निर्माण गर्ने उम्मेदवार बस्नेतले बताए ।
कोही भुमिहिन हुनुपर्दैन
चुनावी घरदैलो अभियानमा वडा १३ मा पुगेका उम्मेदवारहरुले अब सुकुम्बासीहरु भुमिहिन भएर बस्नुनपर्ने पनि बताए । कोणसभामा बोल्दै प्रदेशसभा १ (१) का उम्मेद्वार वस्नेतले सुकुम्वासीको समस्या समाधान गर्नको लागि नेकपा एमाले नेतृत्व सरकारले ऐन वनाएकोले कार्यान्वयन गर्नेमा दुई मत नभएको वताए ।
उनले भने,‘पुर्जा प्राप्त गर्ने गरि ऐन एमाले नेतृत्वको सरकारले बनाएको छ । अव एमाले नेतृत्वको सरकारले कार्यान्वयन गर्दछ,त्यसैले कोही पनि सुकुम्वासीहरु पुर्जा विहीन हुनु पर्ने छैन् ।’ धरान –१३ को सुकुम्वासीहरुको विवरण सुकुम्वासी आयोगले सुचिकृत गरिसकेकाले त्यो पनि एमालेकै पहलमा भएकाले पुर्जा प्राप्त हुने कुरामा ढुक्क हुन आग्रह गरेका छन् ।