धरान: कानुन विपरीत जातीय विभेदलाई अभिवृद्धि हुने गरि तथा दलित समुदायको अपमान हुने गरि सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै धरानका मेयर हर्क साम्पाङलाई कानुनी कारबाहीको माग गरिएको छ । 

धरानका तीन जना कार्यपालिका सदस्यहरुले बिहिबार साँझ संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै मेयर साम्पाङलाई कारबाहीको माग गरेका हुन् । विज्ञप्ती जारी गर्नेमा कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया विक र दिनेश गजमेर रहेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले दलित समुदायमाथि जातीय आँच आउने गरि अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् । 

भिडियो:

कार्यपालिका सदस्यहरुले जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मुल्यमान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना, मर्म विपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने गरि अभिव्यक्ति दिएकोले कानुन अनुसार कारबाहीको माग गरेका छन् । मेयर साम्पाङले मंगलबार फेसबुकमा जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे बुद्धि भन्ने पोष्ट गरेका थिए । उनको यो पोष्टप्रति सामाजिक सञ्जालमा विरोध हुदै आएको छ । राष्ट्रिय दलित आयोगले समेत मेयर साम्पाङलाई उक्त अभिव्यक्तिप्रति आत्मालोचना गर्न आग्रह गरेको थियो । 

hark-dalit