धरान: श्रष्टा एवं साहित्यकारले सम्मान र पुरस्कार पाउनु सामान्य हो, तर साहित्यकार जन्म दिने आमालाई पनि सम्मान गर्ने कुरा पक्कै पनि अचम्मकै हुनेछ । त्यसमाथि ताम्रपत्र र नगद ५० हजार रुपैयासहित । 

यो अचम्म लाग्ने कुरा शुक्रबार धरान १२ स्थित होटल पुर्वी स्टारको एक साहित्यिक कार्यक्रममा घोषणा भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालय र अनलाइन अभिलेख प्रालि काठमाण्डौंले आयोजना गरेको डा.पुरण राईको पाँच कृतिमाथि परिचर्चा तथा सम्मान कार्यक्रममा आमा सम्मान घोषणा गरिएको हो । अनलाइन अभिलेख प्रालिका संस्थापक पनि रहेका डा.राईले आफ्नी आमा मौलसोभा राईको नाममा उक्त आमा सम्मानको घोषणा गरेका हुन् । 

puran3

डा.राईका भाषा, साहित्य, कला, सँस्कृति तथा आर्थिक, राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुको आमालाई मौलसोभा राई आमा सम्मान प्रदान गरिनेछ । नगद ५० हजार रुपैया र ताम्रपत्रसहित यो सम्मान प्रत्येक बर्ष एक जना आमालाई सम्मान गरिनेछ । यसै बर्ष २०८१ देखि कार्यविधि बनाएर यो सम्मान प्रदान गरिने डा.राईले जानकारी दिए । 

पाँच कृतिमाथि परिचर्चा र साहित्यकारहरुलाई सम्मान

puran1

कृति परिचर्चा कार्यक्रममा नेपालका भाषाविद् प्रा.डा.टंक न्यौपानेसहित ६ जना साहित्यकारहरुलाई सम्मान गरिएको थियो । प्रा.डा.न्यौपानेसँगै वरिष्ठ कवि जसराज किराती, वम देवान, शरणकुमार राई, कुन्ता शर्मा र विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङलाई सम्मान गरिएको थियो । 

साहित्यकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं धरानका मेयर हर्कराज राई (साम्पाङ)ले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा डा.राईको पाँच कृतिमाथि परिचर्चा पनि भएको थियो । गत बर्ष उपन्यास वसन्त ऋतु, नाटक लाशमाथिको मानव, कथा संग्रह अस्तु, कोभिड डायरी डरका बिम्बहरु, सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधान नामको पाँच कृति एकैपटक विमोचन गरिएको थियो । 

puran2

कार्यक्रममा डा.अस्मिता विष्टले डा.राईका उपन्यास वसन्त ऋतुमाथि चर्चा गरेकी थिइन् भने डा.महानन्द तिम्सिनाले कोभिड डायरी–डरका बिम्बहरुमाथि चर्चा गरेका थिए । यस्तै, राजेश विद्रोहीले कथा संग्रह अस्तु माथि चर्चा गरेका थिए । यस्तै, प्रा.डा.टंक न्यौपानेले पनि उनका कृतिमाथि चर्चा गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि मेयर साम्पाङले साहित्य, शिक्षाले समाजलाई निर्देशित गर्ने धारणा व्यक्त गरे । साथै, उनले साहित्य कल्पना र कल्पना योजना हुने भएकोले साहित्य विकास पनि भएको बताए ।