धरान: मुटु रोगले च्यापेर बेला बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सीमा पुग्छन् । सुगर र प्रेसरको पनि समस्या छ । शुभेच्छुकहरुको सहयोगले उपचार खर्च जेनचेत चलेको छ । माइला छोराको मात्र कमाईले घरखर्च धान्न धौ धौ नै पर्छ ।

छोरा, छोरीको साथमा बषौंदेखि धरान ८ स्थित साम्पाङ चोकको एक भाडाको घरमा बस्दा वरिष्ठ लोकगायक सुरेश गन्धर्वको मनमा सधै पीर हुन्थ्यो । जीर्ण घरमा नै आफ्नो जीवन पो समाप्त हुने हो कि ? पछि छोराछोरी, नातिनातिना के होलान् ? यस्तो कुराले गायक गन्धर्वको मन बेचैन हुन्थ्यो । 

चर्चित गीत रिन्के बुङ्को रागोलाई...का गायक गन्धर्वमा अहिले भने यो बेचैनी छैन । यद्यपी स्वास्थ्यको समस्या छ, तर मनमा खुशी र शान्ति छ । यसको कारण हो, धरान वडा नं ८ को कार्यालयले गायकलाई जग्गा उपलब्ध गराउनु । वडाअध्यक्ष धनबहादुर राईले गन्धर्वको अवस्था थाह पाएपछि घर निर्माणको लागि जग्गा उपलब्ध गराउन पहल गरेर प्रस्ताव कार्यपालिका बैठकमा पेश भएको थियो । बैठकले नमुना बस्ती बसाउने क्षेत्रमा गन्धर्वलाई जग्गा प्रदान गर्ने निर्णय गरेको थियो । पुर्वमेयर तारा सुब्बाको पालामा घरबारविहिन परिवारलाई उक्त क्षेत्रमा जग्गा उपलब्ध गराएर नमुना बस्ती बसाउने निर्णय भएको थियो ।

suresh

यो निर्णय कार्यान्वयनमा आइसकेको छ । गन्धर्व परिवारले एउटा पक्की घर निर्माण गरेर डेराबाट स्थनान्तरण भइसकेका छन् । गायक गन्धर्व भन्छन्,‘अहिले एकदमै खुशी छुँ । आफ्नो घर भनेको आफ्नै हुदो रहेछ । अरुको घरमा बस्नुभन्दा धेरै राम्रो ।’

गन्धर्वकी छोरीले घर बनाउदा बनाउदै मुटुको समस्या बढेर अस्पताल लैजानुपर्दा समस्या भएको बताइन् । दाताहरुले दिएको सहयोगले नै घर निर्माण गरेको पनि उनले बताइन् । ‘घर बनाउदा पनि केही ऋण छ । झ्याल ढोका बनाउन बाँकी नै छ,’उनले भनिन्,‘वडाअध्यक्षलाई धेरै धेरै धन्यवाद । कम्तीमा आफ्नो घरमा बस्न पायौं । ढुक्क छौं ।’

suresh gandarva

वडा ८ का अध्यक्ष धनबहादुर राईले राष्ट्रिय गायकको अवस्थाले आफुलाई चिन्तित बनाएको र नमुना बस्तीमा जग्गा दिएर घर बनाउन सहयोग दिएको बताए । उनले झ्याल र ढोका निर्माणमा पनि सहयोग गर्ने बताए । ‘नमुना बस्तीमा ५ परिवारलाई जग्गा दिएका छौं, उहाँहरु सबै घर बनाएर सरिसक्नुभएको छ,’ अध्यक्ष राईले भने,‘एक घर गायकको हो । अरु ४ घर मदनभण्डारी राजमार्गले विस्थापित हुने परिवार छन् ।’

भिडियो: