धरान: धरान उपमहानगरपालिका वडा नं १४ र १५ को सिमानामा झण्डा पार्क निर्माण भएको छ । 

पिण्डेश्वर मन्दिर नजिकै विद्यापिठले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न भएको पार्कको मंगलबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा उद्घाटन गरे । पार्कको बीचमा राष्ट्रिय झण्डा फहराइएको छ भने बगैचा र धरान सहरको दृष्यावलोकन गर्न सकिने गरि निर्माण गरिएको छ । 

योजना महाशाखा प्रमुख ईञ्जिनियर सुरज श्रेष्ठका अनुसार पार्क बनाउन २०८० असार २० गते सम्झौता भएको थियो । पार्क बनाउन ओरेकल इञ्जिनिरीङ सोलुसन प्रालि काठमाण्डौंले ठेक्का पाएको थियो । पार्कको लागत स्टिमेट १ करोड ४१ लाख १९ हजार भएको थियो । टेण्डर आह्वान हुँदा १ करोड ७८ हजार १०५ रुपैयामा सम्झौता भएको थियो । २०८१ भदौ २० गते निर्माण सम्पन्न हुँदा भने ९४ लाख ३१ हजार १६३ रुपैया लागेको पनि श्रेष्ठले जानकारी दिए । 

भिडियो:

मेयर साम्पाङले पार्कलाई नगरको सम्पत्तिकोरुपमा उपयोग गर्न स्थानीयबासीले पनि भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले सुरक्षाका लागि नगर प्रहरी परिचालन गर्ने र दृष्यावलोकन गर्न दुरबिन पनि राख्ने बताए । साथै, बर्षाको बेला पर्यटकलाई बस्नको लागि ट्रष्ट पनि बनाउने मेयर साम्पाङले बताए । उपमेयर बेघाले विगतमा योजना अघि सारेको भएपनि पुर्वाग्राह नराखी नगरले बजेट विनियोजन गरेको र निर्माण सम्पन्न भएको बताए । 

वडा १५ का अध्यक्ष नरेश इवारमले टावर बनाएर पर्यटकहरुलाई बर्षामा ओत राख्ने ठाउँ पनि बनाउनुपर्ने बताएका थिए । उनले २०७४ सालमा निवार्चित जनप्रतिनिधिहरुकै बेलामा झण्डा पार्कको योजना अघि सारेको तर विविध कारणले निर्माणमा ढिलाई भएपनि अहिले उद्घाटन भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई पनि उपस्थित थिए । 

भिडियो:

    

jhanda park7 copy

jhanda park3 copy

jhanda park4 copy

jhanda park5 copy

jhanda park copy