धरान: मुक्कुमलुङमा निर्माण हुन लागेको केवलकार खारेज गर्नुपर्ने मुख्य माग लिएर मुक्कुमलुङ अन्तरदलीय संरक्षण संघर्ष समितिले ९ जिल्ला लिम्बुवान बन्दको घोषणा गरेको छ । 

समितिले माघ १९ गतेसम्म पुर्वघोषित ताप्लेजुङ जिल्ला प्रवेश गर्ने विभिन्न राजमार्ग तथा नाकाहरुमा बन्द यथावत रहने जनाएको छ । माघ २० गते आइतबार र २१ गते सोमबार नौ जिल्ला लिम्बुवान बन्द गर्ने समितिले घोषणा गरेको थियो । उक्त दिनसम्म पनि माग सम्बोधन नभए माघ २२ गतेदेखि अनिश्चितकालिन लिम्बुवान आमहड्ताल गरिने समितिले जनाएको छ । 

केवलकार खारेज गर्नुपर्ने प्रमुख माग राखेको समितिले काफ्लेपाटीमा राखिएका सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने र गोली लागेका घाइतेहरुको आजीवन जीवन निर्वाहको व्यवस्था केवलकार बनाउने कम्पनीका सञ्चालक चन्द्र ढकालले गर्नुपर्ने पनि संघर्ष समितिले माग राखेको छ । 

मुन्दुमी आस्थाको केन्द्र मुक्कुमलुङमा केवलकार बनाउन नहुने भन्दै आन्दोलन गरिरहेका संरक्षणकर्मीहरुमाथि माघ १२ गते साँझ सशस्त्र प्रहरीले गोली प्रहार गरेको थियो । गोली प्रहरबाट गम्भीर घाइतेहरुको राजधानीमा उपचार भइरहेको छ । 

मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिमा राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचानवादी मोर्चा, जसपा नेपालको लिम्बुवान राष्ट्रिय समिति, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति, नागरिक उन्मुक्ति पार्टी प्रदेश नं १, नेपाल जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन डिजिजि प्रदेश नं १ र किरात लिम्बुवान प्रदेश समिति आवद्ध छन् । 

mukkumlung

mukkumlung1