धरान: सुर्य, स्वस्तिका, शुभ, गौरामार्ग टोल बिकास संस्थाको पहिलो बार्षिक साधारण सभा तथा नयाँ बर्षको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

धरान १३ स्थित किरात राई यायोक्खाको सभाहलमा शनिबार संस्थाको पहिलो बार्षिक साधारण सभा तथा नयाँ बर्ष-२०८२ को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष तिलक सिंह लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव यम बहादुर राईले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष बिमला गुरुङले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धरान १३ की वडा सदस्य उर्मिला परियारले टोलमा हुने विभिन्न प्रकारका समस्याहरुलाई स्थानियस्तरमा हल गर्न टोल बिकास सस्थाको महत्वपूर्ण भूमिका रहने बताइन् । स्थानीयबासी र वडा कार्यालय बीचको सम्बन्धलाई बिस्तार गर्न टोल विकास संस्थाले पुलको भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । 

tlo1

कार्यक्रममा १३ नम्बर वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक नविन पाण्डेले स्थानियबासीहरुलाई शान्ति, सुरक्षाबारे जानकारी दिएका थिए । उनले जनाताको जिउधनको सुरक्षा प्रहरीले गर्ने भएपनि जनता आफै पनि सचेत हुनुपर्ने बताए । सबै मिलेर समाजमा हुने अपराधिक कृयाकलापका घटनाहरु हुन नदिन आआफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा टोल बिकास संस्थाका पूर्वअध्यक्ष हरि बहादुर कार्की, उदयमार्ग टोल बिकास संस्थाका अध्यक्ष पदम प्रधानलगायत स्थानियबासीको उपस्थिती रहेको थियो । केही बर्ष यता निस्कृय रहेको टोल बिकासको गत बर्ष पुर्नगठन गरिएको थियो ।