धरान: धरान १३ निशाने डाँडामा प्रहरीले चेकजाँचको क्रममा बसको डिकीबाट गाँजा जस्तो पदार्थ वरामद गरेपछि २ जनालाई पक्राउ गरेको छ ।
धरान १३ अमरहाटस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा गाँजासहित २ युवालाई पक्राउ गरेको हो । राजारानीबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बसको डिकीमा रहेको २ वटा कालो रंगको झोलामा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ के.जी.फेला परेको थियो ।
उक्त झोलाबारे सोधपुछ गर्दा सोही बसमा सवार ईटहरी वडा नम्बर ७ का २४ बर्षीय सुरेश खत्वे र वडा नम्बर ८ का २० बर्षीय तुलसी पासवानको भएको खुलेको थियो । उनीहरुलाई उक्त लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ ।