धरान: रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने आह्वान गर्दै शुरु भएको धरान रनले ७०० औं हप्ता पुरा भएको छ ।
धरान रन समुहको आयोजनामा सन् २०११ देखि शुरुवात भएको धरान रनले ७०० औं हप्ता पुरा गरेको अवसरमा आज (शनिबार) शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । धरान रन प्रत्येक शनिबार बिहान ठिक ७ बजे यलम्बर पार्कबाट शुरुवात हुने गर्छ । विगतमा यलम्बर पार्कदेखि पुर्वतर्फ तीनकुने पुगेर फर्कने गरिएकोमा हाल तीनढ्वाङ्गे पुल भत्किएर सडक अवरुद्ध भएपछि रुट परिवर्तन भएर पश्चित घोपा क्याम्प गेटतर्फ दौड हुने गर्छ ।
थोरै संख्याबाट शुरुवात भएको धरान रनले वृहत रुप मात्र लिएको छैन, प्रत्येक बर्ष नेवा च्यारिटी १०के धरान रन प्रतियोगिता पनि आयोजना हुन्छ । यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक धावकधाविका सहभागी हुने दौड मध्येकै एक हो । उक्त दौड प्रतियोगिताबाट बचत भएको रकमले विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिदैआएको छ भने विगतमा विभिन्न असहाय व्यक्ति तथा संस्थाहरुलाई धरान रनले सहयोग पनि गरेको थियो ।
धरान रनका संस्थापक सन्तोष राई हाल युकेका छन् । युकेको पार्क रनको अवधारणामा उनले नै धरान रन शुरुवात गरेका थिए । धरान रनबाट प्रेरित भएर नै तरहरा रन, पोखरा रन, उर्लाबारी रन, ताप्लेजुङ रन, भोजपुर रनलगायत दौड प्रतियोगिताहरु पनि शुरुवात भइसकेको छ ।
धरान रन ७०० औं हप्ता पुगेको अवसरमा शनिबार प्रमुख अतिथि एवं नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, बिशेष अतिथि एवं कार्यपालिका सदस्य सावित्री परियार, यलम्बर सामुदायिक वनका सल्लाहकार वलराम राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अतिथि वक्ताहरुले धरान रनले धरानलाई खेलकुदको सहर, स्वास्थ्यप्रति सचेत सहरकोरुपमा स्थापित गर्न सफल भएको धारणा व्यक्त गरे ।
धरान रनका अध्यक्ष हेमन सुनुवारका अनुसार ७०० औं हप्ता गत साता नै पुरा भएपनि जेनजी आन्दोलनको कारण उक्त हप्ता रन स्थगित गरिएको थियो । शनिबार कार्यक्रममा ५० हप्ता र १०० औं हप्ता पुरा गरेका नियमित रनरहरुलाई टिसर्ट पनि प्रदान गरिएको थियो ।




