धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल हुदैछ । 

धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानबीच उपाधि भिडन्त हुनेछ । दुवै स्कुल पहिलो पटक प्रतियोगिताको फाइनल पुगेको हो । त्यसैले शनिबार डिआइजिपी कपले नयाँ च्याम्पियन पनि पाउनेछ । 

२०५८ सालदेखि शुरु भएको चर्चित डिआइजिपी कप छैटौं सँस्करणसम्म आयोजना भएर २०६३ पछि रोकिएको थियो । छैटौं सँस्करणसम्म आयोजना हुँदा धरान १८ स्थित डिपोट माविले ५ पटक उपाधि उचालेको थियो भने एक पटक मोरङको उर्लाबारीस्थित राधिका मावि च्याम्पियन बनेको थियो । डिपोटले पहिलो, दोस्रो, तेस्रो, चौथो र छैटौं सँस्करण जितेको थियो भने पाँचौं सँस्करणमा उर्लाबारीको राधिका माविले उपाधि जितेको थियो ।

विगतमा विद्यालयस्तरको फुटबल प्रतियोगितामा डिआइजिपी कप चर्चित एवं प्रतिष्ठाको बिषय थियो । करिब १९ बर्षपछि पुनःसुचारु भएको यो प्रतियोगिताले आफ्नो साखलाई ब्युँउताउन सफल भएको छ । 

शनिबार नयाँ च्याम्पियनको प्रतिक्षा भइरहदा आयोजक पुलिस स्कुल (रातो) र प्रभात दुवै उपाधि हत्याउने दाउमा छन् । त्यसैले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । 

police school

पुलिस स्कुलले सेमीफाइनलमा सिद्धार्थ बोर्डिङ स्कुल सुन्दर हरैचा मोरङलाई ३–० गोलअन्तरले हराउदै फाइनल प्रवेश गरेको थियो । प्रभातले पनि सेमीफाइनलमा पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४–० गोलअन्तरले हराउदै फाइनलमा स्थान बनाएको थियो ।

आयोजक भएर पनि पुलिस विगतमा छैटौं सँस्करणसम्म फाइनल खेल्न पाएको थिएन । प्रशिक्षक सागर कार्कीले भने,‘पहिलो पटक फाइनल खेल्दैछौं, इतिहास रच्ने हाम्रो लागि ठुलो अवसर हो ।’ फाइनल पुग्दा स्कुलले पाएको चर्चाबाट खुशी हुदै प्रभातका प्रशिक्षक अमृत राईले भने,‘हामी पनि पहिलो पटक फाइनल खेल्दैछौं । स्कुलको नाम चर्चामा आएको छ, खेलाडीहरुलाई पनि हौसला मिलेको छ । फाइनल जित्ने गरि नै मैदानमा उत्रनेछौं ।’

prabhat

प्रतियोगिताका संयोजक सुरेशकुमार हायुले आगामी बर्षहरुमा थप परिष्कृत गरेर आयोजना गरिने बताए । मित्रताका लागि निष्पक्ष खेल भन्ने नारा दिइएको प्रतियोगिताले विद्यालयस्तरबाट नै राम्रो खेलाडी उत्पादनमा मद्दत पुर्याउने उद्देश्य लिएको पनि उनको भनाई छ । विद्यालयकी प्राचार्य मनिका सुब्बाले खेल प्रतिभाहरुलाई अवसर दिएर उनीहरुको क्षमता उजागर गर्ने उद्देश्यले १९ बर्षपछि प्रतियोगितालाई ब्युँउताइएको बताइन् । ‘डिआइजिपी कप इतिहास बोकेको प्रतियोगिता हो, त्यसैले यसपालीदेखि निरन्तरता दिएका हौं,’ उनले भनिन् । 

शनिबार हुने फाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी विनोद घिमिरे प्रमुख अतिथिकोरुपमा रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कुल १६ टिमले सहभागिता जनाएको थियो । फाइनलको विजेताले च्याम्पियन ट्रफीसहित नगद ८१ हजार, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले नगद ४१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै, व्यक्तिगत विधातर्फ पनि खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।