धरान: अन्तराष्ट्रिय बक्सिङ एशोेसिएशनद्धारा मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण धरान फाइट नाइट माघ २३ गते हुने भएको छ ।
धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलनको गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । उक्त प्रतियोगितामा देशभरबाट १४ जना खेलाडीहरु सहभागी हुने सचिव महेश आले मगरले जानकारी दिए । उनका अनुसार प्रतियोगिता माघ २३ गते शुत्रबार धरान १५ स्थित चुम्लुङ हिममा साँझ ४ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगितामा प्रोफेस्नल र एमेच्योर गरी दुई विधामा खेलाडीहरु बक्सिङ रिङमा उत्रनेछन् । प्रोफेस्नलतर्फ यसपाली महिला पनि रिङमा भिड्नेछन् । आयोजकका अनुसार ५१ केजी तौलमा महिला प्रो अन्तराष्ट्रिय पदक विजेता रमिशा श्रेष्ठ र एपिएफकी नाम्जा बुढामगर रिङमा भिड्ने भएका छन् ।
यसैगरि, ५७ केजीमा धरानकै प्रो सिंहविर लिम्बु र एपिएफका प्रदिप महर्जन भिड्नेछन् । सिंहविर गत बर्षको विजेता पनि हुन् । यस्तै, ६३ केजीमा धरानका अनिश भुजेल र नक्साल बक्सिङका रिवाज तामाङ भिड्नेछन् भने ८० केजीमा नेपाल पुलिसका प्रदिप पाकी र बक्समाण्डुका मनोज तामाङ भिड्नेछन् ।

एमेच्योरतर्फ स्कुल क्याटोगरीमा धरानका नाम्साङ लिम्बु र काठमाण्डौंका रोमश लिम्बु भिड्नेछन् भने युथमा धरानका मौषम राई र धनकुटाका अविनाश राई भिड्नेछन् । एमेच्योर इलाइटतर्फ धरानका युनिक राई र वाङ्दी शेर्पाबीच रिङमा भिडन्त हुने पनि सचिव मगरले जानकारुी दिए ।
प्रतियोगितामा प्रोफेशनल तर्फ प्रत्येक तौलमा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २० हजार नगद पुरस्कार र ट्रफी दिइने पनि आयोजक संघका अध्यक्ष दीपक राईले जानकारी दिए । यस्तै, एमाच्योर तर्फ प्रथम हुनेलाई १० हजार र दोस्रो हुनेलाई ५ हजार पुरस्कार तथा ट्रफि प्रदान गरिने उनले बताए ।
पत्रकार सम्मेलनमा पहिलो ओलम्पियन तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष, धरान बक्सिङका संरक्षक नरेन्द्र पोमो लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो भने अखिल नेपाल फूटवल संघका उपाध्यक्ष एवं धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई, कोशी बक्सिङ संघका उपाध्यक्ष अभिषेक श्रेष्ठ, सुनसरी बक्सिङ संघका अध्यक्ष सुधिरसिंह लिम्बू, सुनसरी बक्सिङ संघका प्रशिक्षक निमा तामाङलगायतले बोलेका थिए ।
धरान फाइट नाइट सम्पन्न गर्न धरान उपमहानगरपालिका एवं धरान खेलकुद मञ्च, पूर्व खेलाडीहरु गंगाप्रसाद राई, राजेश गुरुङ, ज्योतिप्रसाद लिम्बू, नविन लिम्बू, अमृत लिम्बू, अरुण लिम्बू लगायतका सहयोग हुने अध्यक्ष राईले बताए ।
भिडियोः







