धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन सरकार र मातहतका निकायहरु सक्दो लागिपरेका छन् । तर, आशंका गरिएका व्यक्तिहरुले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित हेल्थ डेस्कमा शनिबार भारतको केरलाबाट फर्केका ६ जना युवाहरु पुगेका थिए । उनीहरुमध्ये २ जनामा ज्वरो देखिएको थियो । भारतमा पनि कोरोनाको संक्रमण फैलिसकेको छ भने केही व्यक्तिको मृत्यु पनि भइसकेको छ । दुई व्यक्तिमा ज्वरो देखिएपछि मोरङको टाँडीस्थित नेपाली सेनाले तयार गरेको क्वारेन्टाइनमा पठाउन एम्बुलेन्सको तयारी गर्दैगर्दा ती व्यक्तिहरु घर धनकुटातर्फ सुटुक्क गएको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक एवं उनीहरुको उपचारमा संलग्न डा.विकास साहले बताए ।

डा.साहका अनुसार डाक्टरहरुले दिएको आवश्यक राय, सल्लाह नमान्ने प्रवृत्ति कोरोना संक्रमण रोकथामको लागि प्रमुख चुनौतीकोरुपमा देखिएको छ । विदेशबाट आएका व्यक्तिहरु त्यसैपनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । अझ ती दुवैमा एक जनालाई १००.८ डिग्री र अर्कोलाई ९९.८ डिग्री ज्वरो पनि थियो । उनीहरुमा संक्रमण भइदिएको छ भने सार्वजनिक बसमा यात्रा गर्दा अरुलाई पनि संक्रमणको उच्च जोखिम हुन्छ । ‘उनीहरुको स्वाब परीक्षण गर्न आवश्यक थियो । हामीले एम्बुलेन्समा टाडी क्वारेन्टाइनमा पठाउन तयारी गर्दैथियौं, उनीहरु त घर तिर पो हिडेछन्,’डा.साहले भने,‘धरान प्रहरीलाई धनकुटामा खबर गरेर प्रहरी निगरानीमा क्वारेन्टाइनमा बस्न लगाउन भनेका छौं ।’

केरला काम गर्न गएका ती युवाहरु धनकुटा घर फर्किएका थिए । उनीहरुको उमेर २५ देखि ३५ बर्षको बीचमा रहेको छ । अहिले अत्यन्तै जोखिमको अवस्था भएकोले सर्वसाधारण मानिसहरु आफै सचेत र जिम्मेवार नभै कोरोना संक्रमण राज्य, चिकित्सकले मात्र कदम चालेर रोकथाम सम्भव नहुने प्रतिष्ठानका सहप्रवक्ता एवं डा.अशोक ऐर बताउँछन् । एक जनाको लापरवाहीले सबैको स्वास्थ्य जोखिममा पर्ने भएकोले सबै सचेत हुनुपर्ने र डाक्टरले दिएको सुझाव मान्नुपर्ने उनले बताए । ‘डाक्टरले भनेको त मानिदिनुपर्छ नि, एक जनाको लापरवाहीले कतिलाई जोखिम हुन्छ,’डा.ऐरले भने,‘राज्यले गरेर मात्र हुन्न, सबैको जिम्मेवारी हो ।’