धरान: आजदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना भाइरस(कोभिड १९)को पुष्टि गर्न थ्रोट स्वाब परीक्षण हुने भनिए पनि अझै केही दिन समय लाग्ने भएको छ ।
सरकारले स्वाब टेष्टको लागि किट पठाए पनि अझै केही आवश्यक सामानहरु थप्नु पर्ने भएकोले आजदेखि हुने भनिएको स्वाब परीक्षण प्रतिष्ठानमा नहुने भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार किट आएपनि अझै थप सामानहरु आवश्यक पर्ने देखिएकोले स्वाब परीक्षण हुन समय लाग्ने भएको हो । ‘किट त आइपुग्यो, तर अझै सामानहरु आउनुपर्ने देखियो, त्यसैले आजदेखि परीक्षण यही हुदैन,’सहप्रवक्ता डा.ऐरले भने,‘परीक्षण शुरु हुँदा हामी औपचारिकरुपमा नै सबैलाई जानकारी गराउछौं ।’
प्रतिष्ठानले ल्याब सञ्चालनको लागि आवश्यक तयारी अवस्थामा भएपनि आवश्यक सामग्रीहरु भने उपलब्ध हुन बाँकी नै छ । आवश्यक पर्ने सामानहरुको माग सरकारसँग पठाउने र आएपछि शुरु हुने सहप्रवक्ता डा.ऐरले बताए । प्रदेशस्तरमा स्वाब परीक्षण हुन नसक्दा कोरोना आशंका भएका व्यक्तिलाई भए नभएको पुष्टि गर्न स्वाब लिएर काठमाण्डौं पठाउनुपर्छ । यसले गर्दा धेरै समय खर्च भइरहेको छ ।