धरानः विदेशबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पछि दुई साताभित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण संकलन भइरहेको छ ।

गृहमन्त्रालयले विदेशबाट आएका व्यक्तिहरुको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहागनरपालिकाले पनि विगत १५ दिनयता विदेशबाट आएका व्यक्तिहरुको खोजी कार्य तीब्ररुपमा गरिरहेको छ । अहिले प्रत्येक वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा विदेशबाट घर फर्किएका व्यक्तिहरुको विवरण संकलन गर्न र उनीहरुको अवस्थाबारे बुझ्ने काम गरिरहेको छ । अहिलेसम्म नेपालमा ३ जनामा संक्रमण देखिएको छ भने एक जना उपचारपश्चात घर फर्किसकेका छन् ।

फ्रान्सबाट दुबई हुदै काठमाण्डौं आएकी युवतीमा पनि संक्रमण देखिएपछि सरकारले देशभर विदेशबाट आउनेहरुको विवरण र अवस्थाबारे जानकारी संकलन गर्न थालेको हो । बिहिबारसम्म धरानमा ६४ जना विदेशबाट आएको विवरण संकलन भएको छ । ती विवरणहरु गृहमन्त्रालय पठाइएको धरान उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । ‘केही वडाहरुमा एक जना पनि भेटिएको छैन, केही वडाहरुमा अझै खोजी कार्य भइरहेको छ,’खतिवडाले भने,‘विदेशबाट आएकाहरु कति छन्, कुन अवस्थामा छन् भनेर विवरण लिइएको हो । सबैलाई होम क्वारेन्टाइनमा रहन भनिएको छ । समस्या भए अस्पताल लैजान्छौं ।’

पछिल्लो २ सातामा सबैभन्दा धेरै विदेशबाट आएकाहरु वडा नं ६, वडा १६, १७, १५ र ५ मा भेटिएको खतिवडाले जानकारी दिए । यस्तै, वडा ७, १२, १८ र २ मा पछिल्लो २ सातामा विदेशबाट आउनेहरु अहिलेसम्म कोही पनि भेटिएका छैनन् । फ्रान्सबाट कतार ट्रान्जिट हुदै संक्रमित युवती चढेकै प्लेनमा आउनेहरुमा धरानका पनि २ जना फेला परेका छन् । अधिकांश खाडी मुलुक, हङकङ, कोरिया, भारत र बेलायतबाट आएकाहरु छन् । ‘ज्वरो आयो, खोकी लाग्यो वा सास फेर्न गाह्रो भयो भने तुरुन्त भन्नु भनेका छौं, हामी आवश्यक समन्वय गरेर वीपी हस्पिटल लैजान्छौं । नत्र घरमा नै अलग्गिएर बस्न सुझाव दिएका छौं,’वडा नं १७ का अध्यक्ष मनोज भटराईले भने ।