धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको छ ।
वीपी प्रतिष्ठानबाट १३ जनाको स्वाब परीक्षणको लागि काठमाण्डौंस्थित प्रयोगशालामा पठाइएकोमा १२ जनाको रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस संक्रमण नभएको रिपोर्ट आएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरका अनुसार पछिल्लो पटक १३ जनाको स्वाब परीक्षण गर्न पठाएकोमा १२ जनाको नेगेटिभ आएको छ । ‘१३ जनाको स्वाब टेष्ट गर्न पठाएका थियौं, १२ जनाको नेगेटिभ रिपोर्ट आएको छ,’डा.ऐरले भने,'बाँकी एउटाको पनि रिपोर्ट चाडै आउछ ।' 

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साहका अनुसार १३ जना भन्दा अगाडि पनि ३ जनाको स्वाब परीक्षण गर्न पठाइएको थियो । तिनीहरुको पनि रिपोर्ट नेगेटिभ नै आइसकेको थियो । रिपोर्ट नेगेटिभ आएपनि ती व्यक्तिहरु १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने डा.साहले बताए ।

धरानबाट पठाइएको रिपोर्ट नेगेटिभ आउनुमा सरकारले गरेको लकडाउनको निर्णयले महत्वपुर्ण भुमिका खेलेको डा.साहको भनाई छ । ‘हामी सरकारको लकडाउनको कारण सुरक्षित छौं, त्यसैले सबैले लकडाउनलाई पुर्णरुपमा पालना गर्न आग्रह गर्छु,’डा.साहले भने,‘नत्र हाम्रो देशको हालत इटली, अमेरिकाभन्दा झन् खराब हुन्छ । किनभने उनीहरुको जस्तो मेडिकल सिस्टम हाम्रो छैन । एक मात्र बच्ने उपाय घरभित्रै बस्ने हो ।’