धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको मध्ये रिपोर्ट आउन बाँकी एक जनाको पनि रिपोर्ट नेगेटिभ आएको छ ।
काठमाण्डौंस्थित प्रयोगशालाबाट आज बाँकी एउटाको पनि रिपोर्ट आएको र उनको रिपोर्ट पनि नेगेटिभ रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनले भने,‘एउटा रिपोर्ट आउन बाँकी थियो, त्यो पनि आज नेगेटिभ आयो ।’ प्रतिष्ठानले पछिल्लो पटक १३ जनाको स्वाब परीक्षणको लागि पठाएको थियो । ती मध्ये हिजोसम्म १२ जनाको नेगेटिभ रिपोर्ट आइसकेको थियो भने एक जनाको आउन बाँकी थियो ।
प्रतिष्ठानबाट कुल १६ जनको स्वाब परीक्षण गर्न काठमाण्डांै पठाइएको थियो । विगतमा पठाइएको ३ जनाको रिपोर्ट पनि नेगेटिभ नै आइसकेको छ । यसैबीच, आज थप ३ जनाको थ्रोट स्वाब लिएर परीक्षणको लागि काठमाण्डौं पठाइएको प्रतिष्ठानले जनाएको छ । तीन जना मध्ये दुई जना कानेपोखरी मोरङका हुन् भने अर्का एक जना तेह्रथुम बसन्तपुरका युवाको पनि स्वाब परीक्षणको लागि आज बिहान ७ बजे पठाइएको सहायक अस्पताल निर्देशक डा.विकास साहले जानकारी दिए ।