धरान: प्रदेश १ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले मंगलबार धरान १३ स्थित कृषि बजारको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् ।
लकडाउनको समयमा कृषि बजारको अवस्था बुझ्न आएका राज्यमन्त्री मगरले कृषि बजारलाई ४ वटा क्षेत्रमा विभाजन गर्न र धरानको उत्पादनको ब्राण्डिङ गर्न सुझाव दिए । स्थलगत अवलोकन पछि मन्त्री मगरले अनुसार कृषि बजारमा ताजा तरकारी, फलफुल, जडीबुटी र मासुजन्य उत्पादनको क्षेत्र विभाजन गरे उपयुक्त हुने बताए । मासुजन्य उत्पादनको निकासी अन्तराष्ट्रियस्तरमा बजारीकरण गर्न सकिने मन्त्री मगरको भनाई थियो ।
कृषि उपजलाई उत्पादन क्षेत्रमा नै स्वास्थ्यकर बनाउने चुनौती पनि रहेको उनले बताए । ‘धरानले आफ्नो उत्पादनको ब्राण्डिङ गर्ने, त्यो गर्दा धरानको परिचय पनि बन्छ । धरानबाट आएको हो भन्ने बनाउनुपर्छ,’मन्त्री मगरको भनाई थियो । उनले प्रदेश सरकारले कोल्ड च्याम्बर र ल्याब स्थापनामा सहयोग गर्ने आश्वासन पनि दिए । यस्तै, कृषि बजारले व्यक्तिलाई भन्दापनि समुह र सहकारीमार्फत हुने कारोबारलाई प्रोत्साहन दिनुपर्ने पनि धारणा राखे । अर्गानिक उत्पादनको बजारकोरुपमा पनि स्थापित गर्न पहल गर्नुपर्ने मन्त्री मगरको भनाई थियो ।
कृषि उपजलाई अवरोध हुन्न
राज्यमन्त्री मगरले कृषि उपजको कारोबारमा रोक नलाग्ने बताएका छन् । उनले कृषि उपजको कारोबार रोक्ने अधिकार कसैलाई पनि नभएको तर बुझाईमा फरक परेकोले समस्या भएको बताए । मन्त्री मगरका अनुसार सरकारले नै कृषि उपजको कारोबारलाई अवरोध नगर्ने निर्णय गरेको छ । तर केही स्थानीय तहहरुले कोरोना भित्रिने भन्ने आशंकाले रोकेको भन्दै त्यसलाई सरकारले सहजीकरण गरेर खुला गराउने पनि आश्वासन दिए ।