धरान: मुन्धुममा मुक्कुमलुङमा भनेर वर्णन गरिएको पवित्र ठाउँलाई पाथीभरा नामकरण गरेको र अहिले यति होल्डिङ्सलाई व्यवसायिक नाफाको लागि लिजमा दिएकोप्रति मुक्कुमलुङमा सरोकार समुह, धरान विजयपुरले विरोध जनाएको छ ।

समुहले पाथीभरा नाम हटाएर मुक्कुमलुङमा नै राख्नुपर्ने पनि माग गरेको छ । बिशेष गरी लिम्बु(याक्थुङ) समुदायमा मुन्धुममा वर्णित स्थान भएकोले मुक्कुमलुङमाको अत्यन्त ठुलो महत्व राख्छ । तर, यो ठाउँलाई पाथीभरा भनेर नामकरण भएको छ, र अहिले यही नामले प्रसिद्ध धार्मिक तीर्थस्थल तथा पर्यटकीय केन्द्र बनेको छ । यही ठाउँलाई पछिल्लो समय सरकारले व्यापारिक संस्था यति होल्डिङ्सलाई लिजमा दिएको छ । यसको पनि चौतर्फी विरोध भइरहेको छ । अहिले यतिले डिपिआर बनाइरहेको छ । सोही क्रममा मुक्कुमलुङमा संयुक्त संघर्ष समितिले हिजो बिहिबार विरोध जनाउदै अवरोध सृर्जना गरको थियो ।

pathivara1

संघर्ष समितिले अवरोध गरेपछि जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने तनाव उत्पन्न भएको थियो । सोही घटनाप्रति मुक्कुमलुङ्मा सरोकार समुह, धरान विजयपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समुहले आज शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै त्यहाँ संघर्षरत युवाहरु एक्लो नभएको र आवश्यक परे धरानबाट ताप्लेजुङ पुगेर संघर्षमा सहभागी हुन पनि आफुहरु तयार रहेको समुहले चेतावनी दिएको छ । ‘मुक्कुमलुङमा जस्तो कठिन भुगोलमा सुरक्षाको नाउँमा स्थानीय समुदायसँग प्रहरीलाई भिड्न पठाउने यति होल्डिङ्स र त्यससम्बद्ध दलालहरुलाई हामी के चेतावनी दिन चाहन्छौं भने त्यहाँ संघर्षरत युवाहरु एक्ला छैनन्,’विज्ञप्तीमा भनिएको छ,‘उनीहरुलाई संसारभरका याक्थुङलगायत पहिचान र अधिकारप्रति सचेत मानिसहरुको साथ छ ।’

समुहले स्थानीय जनताको अनुमति र स्वीकृति विना कुनै पनि प्रकारको विकासको नाउँमा हुने गतिविधिको कडा भत्सर्ना गर्ने पनि जनाएको छ । स्थानीयले राखेको मुक्कुमलुङमा नामकरण हुनुपर्ने मागप्रति ऐक्यवता जनाउदै समुहले द्धन्द निम्त्याउने गरि हुने दमनलाई रोकेर स्थानीयको माग अनुसार काम अघि बढाउन पनि माग गरेको छ ।

mukumlungma