धरान: नेपाली सेनाका एक डाक्टर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए । ती डाक्टरको ससुराली घर धरान हो, र उनकी श्रीमति पनि डाक्टर नै हुन् । उनी वीपी प्रतिष्ठानमा जेआर(आवासिय चिकित्सक) छिन् ।

परिवार भेट्न आएका डाक्टर पनि वीपी प्रतिष्ठानकै उत्पादन हुन् । शुक्रबार वीपी प्रतिष्ठान आएका उनले त्यसअघि स्वाब दिएर आएका रहेछन् । त्यसको रिपोर्ट भने आउन बाँकी थियो । उनको पिसिआर रिपोर्ट हिजो(आइतबार) पोजेटिभ आयो । वीपी प्रतिष्ठानमा एक दिन बिताइसकेका ती डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई हिजै आइसोलेसनमा राखिएको प्रतिष्ठान स्रोतले जनाएको छ । ‘पोजेटिभ डाक्टरलाई आइसोलेसनमा लगिसक्यो, उनको कन्ट्याकमा आएका सबै क्वारेन्टाइनमा छन्,’स्रोतले भन्यो ।

पोजेटिभ आएका ती डाक्टरका श्रीमति र सासु ससुरा पनि क्वारेन्टाइनमा बसेका छन् भने उनको श्रीमति कार्यरत विभागका कन्ट्याक भएका डाक्टरहरु पनि क्वारेन्टाइनमा छन् । उनको कन्ट्याकमा आएकाहरुको तत्काल स्वाब संकलन भने गरिने छैन । ‘पिसिआर पोजेटिभ रिपोर्ट आएको व्यक्तिको कन्ट्याकमा आएकाहरु ५ देखि ७ दिनभित्र मात्र स्वाब लिइन्छ,’एक चिकित्सकले भने,‘किनभने त्यो समयमा मात्र भाइरल लोड धेरै हुन्छ, र लक्षण वा परीक्षण गर्दा पोजेटिभ देखिन सक्छ ।’ यो बिषयमा सम्पर्क गर्दा प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले आफुलाई जानकारीमा नभएको बताए । ‘यो बिषयमा पहिलो पटक सुने, यो बारेमा मलाई विल्कुल जानकारी छैन,’उनले भने ।