धरान: दुई दाजुभाईमा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को सेन्ट्रल रोडलाई सिल गरिएको छ ।

धरान १५ पिण्डेश्वर चोकदेखि उत्तर र एभरेष्टलाइनमा पर्ने दन्तकाली चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको छ । हिजो(सोमबार) प्रितिभल्वमा काम गर्ने स्थानीय एक व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो भने आज उनकै भाईलाई पनि संक्रमण देखिएको छ । प्रिति भल्कका कर्मचारीको दन्तकाली चोकमा किराना पसल पनि भएकोले स्थानीयमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

वडा नं १५ का अध्यक्ष नरेश इवारमका अनुसार २ जनामा कोरोना पोजेटिभ देखिए पछि थप संक्रमण फैलिन नदिन स्थानीयबासी र प्रहरीसँग समन्वय गरेर सेन्ट्रल रोडमा आवतजावत बन्द गरिएको हो । संक्रमित व्यक्तिका छरछिमेकी, स्थानीयहरु हिजोदेखि नै होम क्वारेन्टाइनमा रहेको र आज ती मध्ये केहीलाई पिसिआर परीक्षणको लागि स्वाब दिन पठाएको पनि अध्यक्ष इवारमले जानकारी दिए । ‘स्थानीयको पनि माग अनुसार अहिलेलाई पिण्डेश्वरी चोकदेखि दन्तकाली चोक निस्कने सेन्ट्रल रोडलाई लक गरिएको छ,’वडाअध्यक्ष इवारमले भने,‘६ जनालाई स्वाब दिन पठाएका छौं, रिपोर्ट नआएसम्म बाटो बन्द नै हुन्छ ।’

अस्थायी प्रहरी चौकी धरान १५ का प्रहरी हवल्दार विजय यादवका अनुसार स्थानीयबासी आफै स्वतस्फुर्तरुपमा सेन्ट्रल रोडको दुवै मुखमा बाँस राखेर आवतजावत बन्द गराएका छन् । साथै, दुवै चोकमा रहेको पसलहरु पनि स्थानीय आफैले बन्द गरेका छन् । ‘समाज आफैले नै अग्रसर भएर पसलहरु बन्द छ, बाँस पनि स्थानीयले नै राख्नु भएको हो । वडाअध्यक्ष पनि आउनु भएको थियो,’उनले भने ।