धरान: धरान १५ मा हिजो(सोमबार) कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको भाईको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
धरानको औद्योगिक क्षेत्रको प्रिति भल्वमा काम गर्ने धरान १५ सेन्ट्रल रोड(पिण्डेश्वर चोकदेखि उत्तर एभरेष्ट लाइन निस्कने सडक)मा घर भएका ती व्यक्तिको हिजो रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई हिजै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो । उनकै भाईको पनि रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
मेहताका अनुसार आज रिपोर्ट पोजेटिभ आएका भाईको पनि साउन १६ गते दाईसँगै स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट भने होल्डमा रहेको थियो । भाउजु, भतिज र भतिजिको रिपोर्ट भने नेगेटिभ आइसकेको छ । ‘उनको रिपोर्ट होल्डमा थियो, आज बिहान पोजेटिभ भयो भन्ने खबर आयो,’मेहताले भने,‘वीपी लैजान आवश्यक तयारी भइरहेको छ ।’ संक्रमितको कन्ट्याक ट्रेस गर्ने क्रममा उनको दाजुको पनि स्वाब लिइएको थियो । प्रितिभल्वमा काम गर्ने दाजुसँग क्लोज कन्ट्याकमा आएको कारण उनको पनि स्वाब लिइएको थियो । योसँगै धरानमा कुल संक्रमित संख्या २७ पुगेको छ ।