धरान: सुनसरीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् ।

दुहबी नगरपालिकाले बजार क्षेत्र र नगर कार्यालय सिल गर्ने निर्णय गरिसकेको छ भने इनरुवा नगरपालिकाले पनि साउन २६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप संक्रमण फैलिन नदिन प्रमुख पालिकाहरुले लकडाउनको निर्णय लिएको हो । इनरुवाका सञ्चारकर्मी जयकृष्ण यादवका अनुसार आजैदेखि साउन २६ गतेसम्मलाई लकडाउन गर्ने निर्णय भएको छ ।

इनरुवामा हालसम्म ३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये २ जना प्रहरी हुन् भने आज एक जना पोजेटिभ देखिएको व्यापारी धेरैतिर हिडडुल गरेको देखिएपछि लकडाउन गर्ने निर्णय भएको हो । सुचना अधिकारी निरज पोखरेलका अनुसार ती व्यापारीले हिजो(सोमबार) मास्क वितरण कार्यक्रममा पनि सहभागिता जनाएका थिए । ‘धेरै जित घुमेको र मास्क वितरण पनि गरेको थियो, त्यसैले लकडाउन गर्ने निर्णयमा नगरपालिका पुगेको हो,’उनले भने ।

यता, इटहरी उपमहानगरपालिकाले पनि आजै बैठक बसेर लकडाउनको निर्णय गर्ने भएको छ । उपमेयर लक्ष्मी गौतमले सामाजिक सञ्जाल फेसबुकमा आवश्यक सामग्रीहरु जोहो गर्न नगरबासीहरुलाई आग्रह गरिसकेकी छिन् । उनले ‘इटहरीलाई पुर्णरुपमा लकडाउन गर्नुपर्ने अवस्था आएको भन्दै ४ बजे बैठक बसेर निर्णय गरिने’ उल्लेख गरेकी छिन् ।