धरान: धरानमा एकै पटक १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

भर्खरै आएको पिसिआर परीक्षणको रिपोर्ट अनुसार एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

संक्रमण पुष्टि भएका मध्ये ६ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने अन्य ६ जना समुदायका नै हुन् । समुदायका संक्रमितमध्ये धरान ३ का एकै परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ । यो परिवारमा ८५ बर्षका वृद्धदेखि ७ बर्षका बालकमा पनि पोजेटिभ रिपोर्ट आएको छ । उनीहरुमा ८५ बर्षका पुरुष, ८० बर्षका महिला, ४० बर्षका पुरुष, ३६ बर्षकी महिला र ७ बर्षका बालक पनि छन् । यसैगरि, रिपोर्टमा धरान १८ उल्लेख भएको ४० बर्षका महिला पनि पोजेटिभ देखिएको छ तर, उनी वडा नं ११ का भएको प्रारम्भिक जानकारी आएको महाशाखा प्रमुख मेहताले बताए ।

क्वारेन्टाइनमा भएका ६ जना

भारतबाट आएका ६ जना मध्ये ५ जना भारतीय सेना हुन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेका धरान १७ का २८ र २६ बर्षका २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ भने वडा नं १५ का ३४ बर्षीय पुरुष, वडा नं ११ का ३५ बर्षका पुरुष र वडा नं २ का २२ बर्षकी महिला छिन् । वडा नं १९ का पुरुषको यसअघि साउन १६ गते नै स्वाब परीक्षण गर्दा नेगेटिभ आएर क्वारेन्टाइनबाट घर गएका थिए । तर, उनका साथीहरुको पोजेटिभ आएपछि क्वारेन्टाइनमा नै बसेको र दोस्रो पटकका रिपोर्ट पोजेटिभ आएको मेहताले बताए ।

यो रिपोर्टले धरानमा समुदायमा संक्रमण फैलिएको पुष्टि गरेको छ । त्यसैले उपमहानगरपालिकाले लकडाउन पनि घोषणा गरिसकेकोले सबैलाई घरभित्रै बस्न स्वास्थ्य महाशाखा प्रमुख मेहताले आग्रह गरे । ‘कोरोना समुदायस्तरमा नै पुगिसकेको छ, त्यसैले लकडाउनमा सबै घरभित्रै सुरक्षित रहन आग्रह गर्छु,’उनले भने । धरानको कार्यपालिका बैठकले साउन २८ गते मध्यराती सम्मको लागि एक साता लकडाउन गर्ने निर्णय गरिसकेको छ ।