धरान: समुदायस्तरमा संक्रमण पैmलिएको आशंकामा जारी रेण्डम मास टेष्टिङको क्रममा आज (शुक्रबार) पनि धरानमा १४१ जनाको स्वाब संलकन भएको छ ।

धरानको वडा नं १३ को कार्यालयमा शुक्रबार १४१ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार योसँगै समुदायस्तरमा स्वाब संकलनको कुल संख्या ८०१ पुगेको छ । ‘उपमहानगरपालिकाले समुदायस्तरमा ५ सयको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्ने भनेको थियो, तर पोजेटिभ रिपोर्ट आएकाहरुको कन्ट्याक ट्रेसिङ भएकाहरुको पनि संख्या बढेर धेरै संख्या भयो,’उनले भने,‘शनिबार पनि धरान १५ को वडा कार्यालयमा स्वाब संकलन गर्दैछौं ।’ वडा १५ को कार्यालयमा नजिकैको वडा नं ३ को नागरिकहरुको पनि संकलन गरिने उनले बताए ।

swab-collection

स्वाब संकलनको यो संख्या साउन २० गते यताको हो । त्यसमध्ये पहिलो दिनको १३० जना मध्येबाट ११६ जनाको पिसिआर रिपोर्ट आएको छ भने १४ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएकोमध्ये ११४ जनाको नेगेटिभ आएको छ भने २ जनाको मात्र पोजेटिभ रिपोर्ट आएको छ । पोजेटिभ रिपोर्ट आएका २ जनामा धरान ९ का सब्जी व्यापारी र धरान १५ बस्ने उपमहानगरपालिकाकी कर्मचारीका १० बर्षीय छोरा हुन् ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार गत चैत यताको स्वाब संकलनको संख्या भने १५ सय बढी भइसकेको छ । स्वाब संकलनमा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका माइक्रोवायोलोजी विभागबाट आशिष प्रधान, आकृति गुरुङ र मोजेस चौधरीसँगै धरान मेडिकल स्टुडेन्ट्स टिमले पनि सहयोग गरिरहेको छ ।