धरान: शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि सरोकारवालाहरुसंग छलफल सुरु भएको छ ।

कार्यदलले सोमबार बुझाएको प्रतिवेदनमाथि उपमहानगरपालिकाले आज (मंगलबार)देखि सरोकारवालाहरुसंग छलफल सुरु भएको हो । छलफलमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसहित सहभागी प्रतिनिधिहरुले आफ्ना धारणा राखेका थिए । पहिलो दिन सामुदायिक र निजी विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यदलको प्रतिवेदनमाथि छलफल भएको हो ।

कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल सुरु भएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वालले जानकारी दिए । ‘सामुदायिक विद्यालय र निजी विद्यालयका प्रअहरुसंग बसेर कार्यदलले बुझाएको प्रतिवेदनमाथि आजबाट छलफल सुरु भयो,’महाशाखा प्रमुख कट्वालले भने,‘छलफलमा सहभागीहरुले प्रकोप महामारीबाट कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भनेर आ–आफ्नो कुरा राख्नुभयो । मेयर साबले पनि आफ्ना कुरा राख्नुभयो । ठोस निर्णय केही पनि भएको छैन । आजबाट फ्लोर ओपन भयो छलफलकै क्रममा छौं ।’

उनले सामुदायिक विद्यालय सञ्चालनको लागि विद्यालय व्यवस्थापन समिति र अभिभावकसंग पनि राय माग्नु पर्ने सुझाब दिइएको बताए । ‘८, ९ र १० का विद्यार्थीको पनि कक्षा सञ्चालन गर्न सकिन्छ की सकिन्दैन, हामीले विद्यार्थीको अभिभावकसंग राय माग्नुस् भनेका छौं । विद्यालय व्यावस्थापन समितिसंग छलफल गर्नुस् भनेका छौं । उहाँहरुको राय बुझ्न भनेका छौं,’उनले भने,‘विद्यार्थीहरु कहाँ कुन अवस्थामा छन् त्यो कन्ट्राक ट्रेसिङ गरेर बुझ्नुस् भनेका छौं ।’ यस्तै, निजी विद्यालयका प्रअहरुसँग समेत छलफल भएको कटवालले जानकारी दिए । ‘निजी विद्यालयका प्रअहरुसंग पनि बस्यौं । शुल्कको बारेमा निरन्तर छलफलमा छौं,’उनले भने, भोली (बुधबार) पूर्व प्रअ, शिक्षाविद्लगायतसंग बसेर छलफल गछौं ।

उपमेयर मञ्जु भण्डारी सुबेदीले पनि कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल सुरु गरिएको बताइन् । उनले कुन मोडालिटीमा विद्यालय सञ्चालन गर्ने भन्ने बारे कार्यपालिकाले निर्णय गर्ने स्पष्ट पारिन् । ‘कार्यदल बुझाएको प्रतिवेदन बारे आजबाट छलफल सुरु भयो । कुन मोडालिटीमा विद्यालय सञ्चालन गर्ने भन्ने कार्यपालिकाबाट निर्णय गछौं,’उपमेयर सुबेदीले भनिन्,‘बच्चाहरुको स्वास्थ्य प्रोटोकलको विषयमा विद्यालयको जिम्मेवारी कति ? अभिावकको जिम्मेवारी कति ? समग्र विषयमा छलफल गरेर मात्र निर्णय गछौं ।’

उनले निजी विद्यालयको शुल्कको विषयमा विद्यालय सञ्चालक र अभिभावकलाई मार्का नपर्ने गरी निर्णय गरिने समेत बताइन् । ‘निजी विद्यालयको शुल्कको विषयमा पनि छलफल गदैछौं,’उपमेयर सुबेदीले भनिन् ‘विद्यालय सञ्चालक र अभिभाक कोही पनि मारमा नपरोस् भन्ने हो । हामी विन विन हुने गरि निर्णय गछौं ।’