बडादशैं शुरु: आज पहिलो दिन घटस्थापना

  • प्रकाशित: कार्तिक १, २०७७ / 656 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादशैँ आजदेखि सुरू भएको छ।

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। घटस्थापनाको साइत आज बिहान ११ः४६ बजे रहेको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ बडा दशैँ मनाइन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ। पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । यव अङ्कुर(जमरा) दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छ ।शक्तिपीठमा नित्य पूजा भने गरिनेछ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित