धरान: आज नवरात्रको दोस्रो दिन हो। आज दुर्गा भवानीको ब्रह्मचारिणी रूपको आराधना गरिन्छ।

ब्रह्मचारिणी भनेको ‘तपस्या गर्ने स्त्री’ भन्ने अर्थ हुन्छ। दुर्गाको सन्दर्भमा देवीको तपस्यारत अवस्थालाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणी हिमालयपुत्री पार्वतीकै एउटा रूप हो। भगवान् शंकरको सान्निध्यका लागि यिनले नारदका उपदेशले हजारौँ वर्ष तपस्या गरेको उल्लेख पाइन्छ। तपस्याका क्रममा यिनले एक हजार वर्ष फलाहार मात्र गरेर बिताएकी थिइन्। सय वर्ष सागमात्र खाएर तपस्या गरेकी थिइन् भने तीन हजार वर्ष आफै भुइँमा झरेर सुकेका बेलपत्र खाएर तपःसाधना गरेकी थिइन्। तपस्यालाई अझ कठोर बनाउँदै यिनी हजारौँ वर्षसम्म निराहार रही शिवजीको ध्यानमा मग्न रहिन्।

खुला आकाशमुनि वर्षा र गर्मी सहेर यिनले कठोर तपस्या गरेको प्रसंग पुराणहरूमा वर्णित छ। पौराणिक कथनअनुसार पात ९पर्ण०समेत नखाइ निराहार तपस्या गरेकी हुनाले यिनको नाम अपर्णा रहन गएको हो। तपस्याको प्रभावले यिनी शिवकी शक्तिका रूपमा स्थापित भएकी हुन्। तपोमय अवस्थाकी यिनै दुर्गा भवानी ब्रह्मचारिणी हुन्। ब्रह्मचारिणीलाई देदीप्यमान् आभा भएकी, साधारण तर उज्ज्वल वेशभूषाले युक्त, दायाँ हातमा जपमाला र बायाँ हातमा कमण्डलु धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। यिनी सौम्य र शान्त रूपकी देवी हुन्। नवदुर्गाको दोस्रो दिन यिनै ब्रह्मचारिणीको पूजा–आराधना हुन्छ।