धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सुधार गर्ने उद्देश्यले गठन भएको धरान नागरिक दबाब सञ्जालले वार्ता समिति गठन गरेको छ । 

एक हप्ते अल्टिेमेटम सकिन लागेको र प्रतिष्ठानले पनि वार्तामा बोलाए पछि  नागरिक दबाब सञ्जालले ५ सदस्यीय समिति गठन गरेको हो । समितिमा दबाब सञ्जालका संयोजक सहप्राध्यापक डा.राजेन्द्र शर्मा, सचिव डा.कमल तिगेला, पुर्वमेयर मनोज मेन्याङ्बो, पत्रकार भवानी वराल र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा रहेका छन् । ‘पाँच जनाको वार्ता समिति बनेको छ, वार्ता कहाँ र कहिले गर्ने भनेर संयोजक गर्ने जिम्मा मेयरलाई दिएका छौं,’संयोजक डा.शर्माले भने । 

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले यसअघि नै दबाब सञ्जाललाई छलफलमा बोलाएका थियो । उपकुलपति गिरीले संख्या तोकेर बोलाएपछि दबाब सञ्जाल छलफलमा गएको थिएन । वार्ताको लागि दबाब सञ्जालले प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका मेयर तिलक राईलाई संयोजनको जिम्मा दिएको छ । मेयर राईले पदाधिकारीसँग संयोजन गरेपछि सम्भवतः भोली मंगलबार वार्ता हुने अनुमान गरिएको छ । ‘हामीले ध्यानाकर्षण पत्रमा ११ बुँदे सुझावहरु दिएका छौं, त्यो सुझावको परिधिभित्र रहेर नै वार्ता हुन्छ,’संयोजक डा.शर्माले भने,‘के के सुधार भए, काम कसरी अघि बढ्दैछ, टिओआर कसरी बनाउने भनेर यिनै बिषयमा केन्द्रीत रहन्छौं ।’