धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्षलाई स्पष्टीकरण सोधिए पछि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलित भएका छन् । 

प्रतिष्ठानको अनियमितताबारे फ्याल्कटी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई एसएमएस गरेका थिए भने अन्यालाई पनि एसएमएस गर्न अपिल गरेका थिए । सोही बिषयलाई लिएर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले उनलाई आइतबार स्पष्टीकरण सोधेका हुन् । उपकुलपति डा.गिरीले प्रतिष्ठानको नियमावलीमा उल्लेखित आचारसंहिता विपरीत कार्य गरेकोमा कारबाही किन नगर्ने भन्दै ३ दिन भित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेका छन् । 

bp-faculty2

अनियमितताबारे आवाज उठाउदा स्पष्टीकरण सोधिएकोमा फ्याल्कटी वेल्फेयर सोसाइटीले भने घोर आपत्ति प्रकट गरेको छ । यसको विरोध स्वरुप आज (मंगलबार) बिहान ८ बजे उपकुलपति कार्यालयअघि फ्याकल्टी, जेआर र विद्यार्थीहरुले विरोध सभा समेत गरेका छन् । उनीहरुले चौबिस घण्टा भित्र स्पष्टीकरण फिर्ता लिएर उपकुलपतिले माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘विपीको बिषयमा पत्रपत्रिकाहरुमा समाचार आइरहेको छ, त्यसबारेमा हामीले चै स्पष्टीकरण लिनुपर्ने हो, सम्बन्धित व्यक्तिले स्पष्टीकरण पत्र नपाई कसरी मिडियामा पुग्यो ? यसबारे स्पष्टीकरण उहाँहरुले दिनुपर्छ,’फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा.एस.पी.रिजालले भने ।

bp-faculty1

फ्याकल्टी वेल्फेयरका अध्यक्ष डा.पोख्रेलले पनि आफुले सोमबार राती ७ बजे तिर मात्रै स्पष्टीकरण सोधिएको पत्र पाएको तर मिडियामा भने आइतबार राती नै समाचार आएको बताए । आफुले प्रतिष्ठानको बेथितीबारे आवाज उठाउदा भविष्यमा अरुले पनि आवाज उठाउन नसकोस् भनेर स्पष्टीकरण सोधिएको बताए । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले प्रतिष्ठानमा भएको समस्या र बेथितीहरुबारे पदाधिकारीहरुले पनि स्पष्टीकरण दिनुपर्ने बताए ।