धरान: प्रदेश १ सरकारले प्रदेश भित्रको पर्यटकीय स्थलहरुको प्रवर्द्धनका लागि प्रदेश सरकारका कर्मचारीहरुलाई दश दिनको पर्यटन काज दिने भएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८/८९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङले कर्मचारीहरुलाई आर्थिक सुविधासहित काज दिने व्यवस्था मिलाएको जानकारी दिए । समग्र पर्यटन क्षेत्रको विकासको लागि कुल ८३ करोड ३८ लाख बजेट विनियोजन गरिएको जानकारी दिदै मन्त्री आङ्बुहाङले प्रदेश सरकारले किराती सँस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको खुवालुङको संरक्षण गर्दै साँस्कृतिक तथा पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने पनि बताए । 

उनले खुवालुङको संरक्षणसँगै अरुण तमोर सभ्यताको अध्ययन तथा प्रर्वद्धन गरेर ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने बताए । विभिन्न भाषाभाषी, सँस्कृति, जातजाति, धर्मावलम्बीहरुको सँस्कार, साँस्कृति तथा लोप हुदै गएका परम्परागत नृत्यहरुको संरक्षण गर्दै व्यावसायिकरुपमा प्रर्वदन गर्ने पनि बताए ।

श्रीअन्तु, कन्याम, सन्दकपुर, पत्ताले, टेम्के-मैयूं, अरुण उपत्यका, भेडेटार, तिनजुरे-मिल्के-जलजले क्षेत्र, रौतापोखरी, ह्यातुङ्ग, जोर पोखरी, फङ्गफङ्गे तथा नमस्ते झरना लगायत सम्भाव्य पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर प्रदेशको पर्यटन ब्राण्ड स्थापित हुने गरी प्रचार प्रसार गर्ने व्यवस्था मिलाएको पनि मन्त्री आङबुहाङले जानकारी दिए । 

प्रदेश पर्यटन नीति तर्जुमा गर्ने, प्रदेश भित्रका सोह्र पर्यटकीय गन्तव्य, हरेक निर्वाचन क्षेत्रमा कम्तिमा एउटा आकर्षण र हरेक भौगोलिक क्षेत्रमा कम्तिमा एकरएक सांस्कृतिक र ऐतिहासिक पहिचान गर्ने कार्यक्रमलाई पनि बजेटमा समेटेको मन्त्री आङबुहाङले जानकारी दिए । कोरिडोरमा आधारित पर्यटन विकास गर्ने लक्ष्यका साथ सबै निर्वाचन क्षेत्र जोडिने गरी पर्यटकीय कोरिडर स्थापना गर्न स्रोत व्यवस्था गरेको उनको भनाई थियो ।

प्रदेशमा पहिचान भएका महत्वपूर्ण पदमार्गहरुको क्रमशः विकास गर्दै लैजान यसै बर्षबाट चार बर्षीय पदमार्ग विकास आयोजना शुरुवात गर्ने र मुन्धुम पदमार्गको पूर्वाधारतर्फको काम सम्पन्न गर्न ३ करोड ५० लाख विनियोजन गरेको मन्त्री आङबुहाङले जानकारी दिए । यसैगरि, हिमाली दृष्यावलोकन सर्किट, ईको-ट्रेल तथा कोशी र कोशीका सहायक नदीमा जलयात्राको पूर्वाधार विकास र प्रवर्द्धनका लागि पनि आवश्यक बजेट व्यवस्था गरेको मन्त्री आङबुहाङले बताए । विराट दरवार-बर्जुताल-कौवाखोच-रामधुनी-चतराधाम-बराहक्षेत्र-पिण्डेश्वर हुंदै इटहरीको तालतलैया सम्मको पर्यटकीय सर्किटलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने पनि उनको भनाई छ ।

नेपालको सबैभन्दा होचो स्थान कचनकवलदेखि सबैभन्दा अग्लो स्थान सगरमाथासम्म द्रुत पहुँचका लागि एकीकृत पर्यटकीय विकास योजना सञ्चालन गरेर निजी तथा वैदेशिक लगानी आकर्षण गरिने पनि उनले बताए । हिमाली जिल्लाहरू ताप्लेजुङ्ग, संखुवासभा र सोलुखुम्वु जोड्न उच्च हिमाली मार्ग निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने मन्त्री आङबुहाङले बताए ।