धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएको छ । 

  प्रतिष्ठान शुद्धिकरण अभियानको ५१ औं दिनमा आज मन्त्रालयको वार्ता टोली र आन्दोलनकर्मीबीच ६ बुँदे सहमति भएको हो । सहमति भएपछि संघर्ष समितिले गएको शनिबार घोषणा गरेको सेवा बाहिष्कारलगायत आन्दोलनको कार्यक्रमहरु स्थागित गरेको छ । 

सरकारले गठन गरेको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन वमोजिम सुझाव कार्ययोजनाको समय सिमाभित्र कार्यान्वयनमा लैजाने साथै यसअघि बनेका प्रतिवेदनहरु सार्वजनिक गरि कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने सहमति भएको छ । 

यसैगरि, प्रतिष्ठान ऐन २०४९ को दफा ११ घ मा व्यवस्था भए अनुसार चारै जना पदाधिकारी हटाउन सकिने व्यवस्थामा उल्लेख प्रक्रिया आजैबाट शुरु गर्ने सहमतिको दोस्रो बुँदामा उल्लेख छ । साथै, अबदेखि प्रतिष्ठानमा पदाधिकारी नियुक्तीको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने पनि सहमति भएको छ ।

यस्तै, प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायहरुमा विचाराधिन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रियाका अवस्था बुझेर शीघ्र फछ्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवं सहजीकरण गर्ने पनि सहमति भएको छ। प्रतिष्ठानमा भएको बेथिती, अनियमितताहरुको बिषयमा छानबिन गर्न अबको सञ्चालन परिषद(सिनेट)ले संयुक्त संघर्ष समितिको पनि प्रतिनिधित्व हुने गरि अधिकार सम्पन्न उच्चस्तरीय आयोग बनाउने सहमति भएको छ । 

sahamati1sahamati2