धरान: हरेक शनिबार बिहान ७ बज्नुअघि नै धरान ८ स्थित यलम्बर सामुदायिक वन समुह अघिको सडकमा युवा, वृद्ध र केटाकेटी जम्मा हुन्छन् । अनि, ठिक ७ बजे शुरु हुन्छ धरान रन ।

यसरी धरान दौडन थालेको एक दशक भइसकेको छ । २०६८ सालदेखि शुरुवात भएको धरान रनले आज (शनिबार) ५०० सय हप्ता पुरा गर्यो । भाइटीकाको दिन भए पनि आज धरान रन रोकिएन । बिहानै करिब सय जना जति दौडिएर ५ सय हप्ताको रन पुरा गरेको धरान रनका अध्यक्ष रमु राईले बताए । ‘आज ५ सय हप्ता पुरा भयो, हामीलाई गर्व लागेको छ । यो सबै भोलेन्टियर, नियमित आउने धावकधाविकाहरु र धरान रनलाई माया गर्ने सहयोगीहरुको कारणले हो,’उनले भने ।

dharan-run5

स्वस्थ्यको लागि धरान रन शुरुवात भएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उद्देश्यले धरान रन शुरु भएको हो । यसको श्रेय हाल युकेमा रहदै आएका धावक सन्तोष राईलाई जान्छ । उनी विश्वका ठुला सहरहरुमा आयोजना हुने विश्वस्तरीय म्याराथनमा दौडीसकेका छन् । लण्डनमा हरेक साता आयोजना हुने पार्क रनबाट प्रेरित भएर उनले धरान रन शुरुवात गराएका थिए । धरान रनमा साना केटाकेटी, युवायुवती र वृद्धवृद्धाहरु सहभागी हुदै आएका छन् । धरान रनकै सहकार्यमा पछिल्लो बर्षहरुमा दमक रन, भोजपुर रन, पोखरामा बि १३ रन, ताप्लेजुङ रन पनि शुरुवात भइसकेको छ । 

dharan-run2

प्रत्येक शनिबार बिहान हुने धरान रन जस्तोसुकै मौषम, परिस्थितिमा पनि रोकिदैन । बर्षा, झरी होस वा चाडपर्वको दिन पनि धरान रन बिहान आयोजना हुने अध्यक्ष राईले बताए। ‘चाडपर्व, पानी, झरिमा पनि रोकिएको छैन, भुकम्पको बेला पनि दौड भयो,’उनले भने,‘तर २ पटक लकडाउन भएको बेला चै २०, २२ हप्ता रोकिएको छ ।’

आज बिहान भएको ५ सय हप्ताको रनमा धारनका मेयर तिलक राई पनि सहभागी भएका थिए । उनले शुभकामना पनि व्यक्त गरे । यस्तै, ब्रिटिश आर्मीमा कार्यरत घनेन्द्र जिमीले १० हजार बराबरको जुत्ता सहयोग गरेका छन् । नियमित दौड गर्ने बालक प्रजिल तामांगलाई एक जोर जुत्ता प्रदान गरिएको र अन्य जुत्ता प्रत्येक हप्ता वितरण हुने अध्यक्ष राईले जानकारी दिए । यसैगरि, ५ सय हप्ता पुरा गरेको अवसरमा जर्मनबाट एथलेटिक प्रशिक्षक तीर्थराज वलीले पनि २० हजार सहयोग पठाइदिएको अध्यक्ष राईले बताए । 

dharan-run1

dharan-run3

dharan-run8

dharan-run7