धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रिय अधिवेशनमा देउवा समुहबाट सभापतिमा उम्मेदवार हुन अस्वीकार गरेका तिलक राईले पौडेल-कोइराला समुहबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । 

धरान उपमहानगरका मेयरसमेत रहेका राईले सोमबार धरान ८ सभागृहस्थित मतदान केन्द्रमा वारेसनामामार्फत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । उनलाई संस्थापन इतर पौडेल-कोइराला समुहले महाधिवेशन प्रतिनिधिमा उठाएको हो । राईसँगै देउवा समुहमा लागेका निवर्तमान क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले पनि महाधिवेशन प्रतिनिधिमा पौडेल-कोइराला समुहबाट नै उम्मेदवारी दिएका छन् । श्रेष्ठले पनि वारेसनामामार्फत नै मनोनयन दर्ता गराएका थिए । 

यसैबीच, राईले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै स्थानीय पार्टीको भूमिका निर्माण गर्ने क्रममा सबैको सल्लाह सुझाव अनुसार महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेद्वारी रहेको बताएका छन । उनले पार्टीका शुभचिन्तक, शुभेच्छुक, सहकर्मी, अग्रज नेता लगायत क्षेत्रिय प्रतिनिधि तथा वडा सभापतिहरुको सल्लाह र मनोविज्ञानलाई ध्यानमा राखेर क्षेत्रीय सभापति पदको उम्मेद्वारीको दाबीलाई फिर्ता लिने निर्णय गरेको प्रष्ट पारेका छन् । 

पौडेल-कोइराला समुहका नेताद्धय राई र श्रेष्ठ नगर अधिवेशन पश्चात देउवा समुहतिर लागेका थिए । राई निवर्तमान नगर सभापति हुन् भने श्रेष्ठ निवर्तमान क्षेत्रीय सभापति हुन् । पौडेल-कोइराला समुहबाट क्षेत्रीय सभापतिको उम्मेदवार बन्ने अवस्था नभएपछि देउवा समुहतिर ढल्किएका राईलाई देउवा समुहले सभापतिको उम्मेदवारकोरुपमा अघि सारेको थियो । तर, प्रदेशसभा १(१) र १(२)को मतपरिणामले देउवा समुह कमजोर देखिएपछि राई उम्मेदवारी नदिने निर्णयमा पुगेका थिए । उनी ब्याक भएपछि सोमबार देउवा समुहले लक्ष्मी खतिवडालाई सभापतिमा मनोनयन दर्ता गराएको छ । 

tilak-press