धरान: धरानमा जारी मतगणनामा १ हजार मतको परिणाम सार्वजनिक भएको छ ।
वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । एक हजार मत गणना सकिदा गठबन्धनका मेयर पदका उम्मेद्वार किशोर राईले ३६९ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र मेयरका उम्मेद्वार हर्क साम्पाङको मत २७५ छ भने नेकपा एमालेबाट मेयर उम्मेद्वार मञ्जु भण्डारीले २०३ मत पाएकी छिन् । राप्रपाका उम्मेद्वार नरेश शाक्यले ३७ मत पाएका छन् ।
यसैगरि, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ३९३ मतसहित अग्रता कायमै राखेका छन् । नेकपा एमालेबाट उपमेयर उम्मेद्वार पदम इस्वोले २२७ मत पाएका छन् भने राप्रपाकी उम्मेद्वार पुर्णमाया राईले ५९ र स्वतन्त्र उम्मेद्वार दत्तकुमार लिम्बुले ५२ मत पाएका छन् ।
वडा नं १ को वडाअध्यक्षमा कांग्रेस उम्मेद्वार यज्ञमणी आचार्यले १३२ मतसहित अगाडि छन् भने राप्रपाका उम्मेद्वार रोशन अधिकारीले ८७ मत पाएका छन् । एमालेका उम्मेद्वार सुमन श्रेष्ठले २६ मत पाएका छन् । वडा नं २ को अध्यक्षमा एमालेका उम्मेद्वार रमेश राई १९७ मतसहित अगाडि छन् भने कांग्रेसका सुधिरसिंह लिम्बुले १७३ मत प्राप्त गरेका छन् । वडा नं ३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विद्या शाक्य १६७ मत पाएर अग्रस्थानमा छन् । एमालेका सुयोग पाख्रिन ९९ मत पाएका छन्।
निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा नं १ को ३ सय मत गणना सकिएको हो भने वडा नं २ को ४ सय र वडा नं ३ को ३ सय मत गणना सकिएको हो । धरानमा कुल ६२ हजार ८९७ मत खसेको छ ।