धरान: खानेपानी आयोजना सञ्चालनको क्रममा विवादले पाँञ्चकन्या जंगलमा रिजर्ब वेयर निर्माण हुन नसक्दा धरानको वडा नं १४ मा खानेपानीको चरम अभाव छ । 

खानेपानी संस्थानको पुरानै टंकी उपभोक्ताहरुसँग मिलेर पुर्ननिर्माण त भयो, तर टंकीमा पानी छैन । आइतबार भएको कार्यपालिका बैठकमा वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले यो समस्या उठान गरेका थिए । उनले उक्त टंकीमा पानी खसालीदिए मात्र खानेपानी समस्या केही हदसम्म समाधान हुने बताएका थिए ।

वडाअध्यक्ष भट्टराईकै आग्रह अनुसार आज बिहान मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा वडा नं १४ मा स्थलगत अनुगमन गर्न पुगे । खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल, प्राविधिक र वडा १४ का खानेपानीका कर्मचारीसहित पुगेका मेयर, उपमेयरले अनुगमन गर्दै समस्या हल गर्न निर्देशन पनि दिएका छन् ।

wada-14-water1

वडाअध्यक्ष भट्टराईका अनुसार उपभोक्ताले बनाएको टंकी डेढ लाख लिटर क्षमताको हो । त्यहाँ बिहान र बेलुकी डेढ लाख लिटर पानी उपलब्ध गराउने हो भने ३ सय परिवारलाई सय लिटरको दरले पानी पुग्ने र धेरै समस्या हल हुने बताए । ‘विभिन्न कारणले पञ्चकन्या जंगलमा बनाउन नसकिएको रिजर्ब वेयरको लागि फुस्रेबाट पाइपलाइन ल्याएको रहेछ । त्यसैमा कनेक्सन गरेर टंकीसम्म पानी ल्याउने कुरा भयो,’वडाअध्यक्ष भट्टराईले भने ।

बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले वडा १४ लाई पानी खुवाउने २ वटा विकल्पमा छलफल भएको बताए । पहिलो विकल्पमा अहिलेको खाइरहेको टंकीमा पम्पिङ गरेरै खुवाउने तर त्यसरी खुवाउदा विजुली जादा समस्या हुनेछ । अर्को विकल्पमा खानेपानी आयोजनाले रिजर्ब वेयरको लागि फुस्रेबाट विस्तार गरेको पाइपलाइन प्रयोग गरेर पानी खुवाउने भन्ने रहेको पोखरेलले बताए । ‘फुस्रेको टंकीबाट जंगल क्षेत्रसम्म पाइप राखेको छ, त्यहाँबाट टंकीसम्म कति जोडिदा हुन्छ भनेर हेछौं । ग्राभिटीबाट नै पानी ल्याउन सक्छौं कि भनेर हेरेपछि रिपोर्ट दिन्छौं,’उनले भने,‘समस्या नहोला, वडा १४ को माग पुरा हुन्छ ।’